राष्ट्रको एकता र जनताको अधिकारका लागि हामी सडकमा गएका हौंः अध्यक्ष प्रचण्ड(भिडियाे)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रको एकता र जनताको अधिकारका लागि आफूहरु सडकमा गएको बताउनु भएको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जनसांस्कृतिक महासंघको आयोजनामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, “हामीहरु सडकमा आएको देखेर कोहीले खुशी मनाए । तर, हामीहरु सडकमा पुगेको नभई जनताको बीचमा पुगेका हौं ।”

अध्यक्ष प्रचण्डले संसद् विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले इतिहासमा कलंकको टिका लगाएको बताउनुभयो । ‘संविधान बनाउने बेलामा हामी संविधानसभाका दलहरुले छलफल गरेर नै त्यो व्यवस्था नराखेका हौं । तर अहिले बडो निर्मम ढंगले संविधानको ‘कू’ गरियो’, अध्यक्षको भनाई छ । उहाँले नेपाली जनताको लामो संघर्ष र बलिदानपछि संविधान जारी गरिएको भन्दै ओलीले ३ करोड नेपाली जनताको भावनामा चोट पुर्याएकाले यसको विरोध गर्नु सबैको दायित्व भएको बताउनुभयो ।

‘संविधानले दिँदै नदिएको र हुँदै नभएको कुरा प्रयोग गरेकाले सदन विघटन भएको होइन, जीवित छ । विघटन भएको केपी ओलीको सरकार हो’, उहाँले भन्नुभयो, ‘मलाई विश्वास छ, सम्मानित अदालतले यति सामान्य कुरा बुझ्नेछ, बुझ्दैन भनियो भने अदालतप्रति अपमान ठहरिन्छ । छिटोभन्दा छिटो संविधानअनुसार सदन सुचारु गर्ने अदालतबाट आदेश आउनेछ भन्ने विश्वास गर्छु ।’ तर अध्यक्ष प्रचण्डले केपी ओली जुन ढंगले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्रको हकअधिकारमाथि प्रहार गरेको भन्दै त्यो सैह्य हुन नसक्ने बताउनुभयो ।

गत वर्षको केन्द्रीय समिति बैठक भव्य रुपमा सम्पन्न भएपछि ओलीले आफ्नो कुर्सी नै हटाइदिएको प्रसंग निकाल्दै अध्यक्ष प्रचण्डले त्यसबेला आफूले केपीलाइ धन्यवाद दिएको बताउनुभयो ।

‘अहिले पनि ओलीले जनतामा जाने मुद्दा र नारा दिनुभयो । संविधान, संघीयता र जनतामा जाने मुद्दा दिनुभयो, अर्को चुनाव हामी जित्छौ, तपाइँलाई धन्यवाद भनेर भन्ने गरेको छु । बाजी हामीले जितेका छौ’ उहाँको भनाई छ ।

उहाँले केही दिनको कुरा मात्रै हो भन्दै कसैले पनि चिन्ता लिनुपर्ने नभएकाले ऐतिहासिक जिम्मेवारी पुरा गर्न एकतावद्ध भएर जानुपर्ने बताउनुभयो । अध्यक्ष प्रचण्डले केही साथीहरु लोभ गरेर उता गएको भन्दै उनीहरु फेरि फर्कने बताउनुभयो ।

कात्तिक ७, २०८१ बुधबार १९:२५:१३