राष्ट्रपति र प्रधानमन्त्री पदसँग साटिएको संविधान हो, ‘प्रचण्ड’

असार ८, धनगढी । पूर्व प्रधानमन्त्री तथा ने.क.पा. (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको नयाँ संविधान आफ्नो पार्टीले राष्ट्रपति र प्रधानमन्त्री पदसँग साटेको बताउनु भएको छ ।
बिहीबार ने.क.पा. (माओवादी केन्द्र) ले नेपालगञ्ज उपमहानगरमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले भन्नुभयो, ‘हामीले २०५८ सालमै संविधान सभाबाट संविधान बन्नुपर्छ भनेका थियौं । तर, कांग्रेस, एमाले लगायतका दलहरुले मानेनन्, देशमा फेरि युद्ध भयो । पहिलो संविधान सभा पनि गणतन्त्र र प्रगतिशील संविधान बन्न नदिने षड्यन्त्रका कारण भंग भयो । दोस्रो संविधान सभाबाट पनि संविधान बन्दैन कि भन्ने जनता र माओवादीलाई पनि गहिरो चिन्ता थियो । तर, माओवादीले कांग्रेसलाई राष्ट्रपति र एमालेलाई प्रधानमन्त्री पद दिएर संविधान लियो । मैले नै सुशीलजीलाई तपाई राष्ट्रपति र ओलीजीलाई तपाई प्रधानमन्त्री भनेर नभएको भए फेरि पनि संविधान बन्दैनथ्यो । माओवादीले राष्ट्रपति र प्रधानमन्त्री पद कांग्रेस र एमालेलाई दिएर संविधान लिएको हो ।’
माओवादी नेतृत्वको सरकारपूर्व देश बिखण्डनको डिलमा उभिएको र आफूलाई देशलाई बिभाजन हुनबाट बचाएको प्रचण्डले बताउनु भयो । उहाँले भन्नुभयो, ‘एकथरि मान्छेहरु राष्ट्रवादका नाममा पहाडी समुदायलाई बोकेर तराई मधेशप्रति घृणा फैलाउँदै थिए, अर्कोथरि मान्छेहरु मधेशी अधिकारका नाममा पहाडी समुदायप्रति घृणा फैलाउँदै थिए । कतै देश बिभाजन हुने त होइन ? भन्ने चिन्ता व्याप्त थियो । त्यस्तो प्रतिकूल परिस्थितिमा हामीले देशको जिम्मेवारी लियौं । हिमाल, पहाड, तराई मिलाएर, सबैलाई एकताको सुत्रमा बाँधेर मात्रै राष्ट्रिय एकता बलियो हुन्छ भन्ने मान्यता स्थापित भयो, माओवादी नभएको भए राष्ट्रवादकै नाम दिएर देश बिखण्डन हुने खतरा थियो, त्यसबाट हामीले देशलाई बचायौं ।’
सम्बोधनमा प्रचण्डले नेपालगञ्ज उपमहानगरलाई महानगरमा स्तरोन्नति गर्न आफूले पहल गर्ने बताउनु भयो । कार्यक्रममा नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैस, माओवादी केन्द्र नेपालगञ्जका मेयरका उम्मेदवार दामोदर आचार्य लगायतका वक्ताहरुले बोल्नुभएको थियो ।

खजुरा, बाँके । नेपालगञ्जको जनसभालाई सम्बोधन गर्नुपूर्व अध्यक्ष प्रचण्डले खजुरा गाउँपालिकाको चुनावी सभालाई सम्बोधन गर्नुभएको थियो । कार्यक्रममा बोल्दै प्रचण्डले हुलाकी राजमार्ग, छोटी भन्सार, महाकाली नदीमा पुल लगायतका पूर्वाधार निर्माणमा तिब्र प्रगति भइरहेको बताउनु भयो ।
कार्यक्रममा खजुरा गाउँपालिकाका अध्यक्षका उम्मेदवार डम्बर विक र उपाध्यक्षका उम्मेदवार फिरोद बानु खानले गाउँपालिकाको विकासबारे आफ्नो प्रतिवद्धता राख्नुभएको थियो ।

कोहलपुर, बाँके । नेपालगञ्जको चुनावी सभापछि अध्यक्ष प्रचण्डले कोहलपुर नगरपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्नुभयो । कार्यक्रममा बोल्दै प्रचण्डले भन्नुभयो, ‘अहिलेको निर्वाचन गाउँ विकास समिति वा गाउँ पञ्चायतको निर्वाचन होइन, गाउँ नगरमा सिंहदरबारको निर्वाचन हो । पहिलोचोटी माओवादीको त्याग र बलिदानीका जगमा स्थानीय तह निर्माण भएको छ । हामीले नगरमा युवा नेतृत्व अघि सारेका छौं, युवाहरुको अग्रसरता र विजयले मात्रै कोहलपुरको भाग्य र भविष्य बदलिन सक्छ ।’
कार्यक्रममा कोहलपुर नगरका मेयरका उम्मेदवार नरेन्द्र न्यौपाने र उपमेयरका उम्मेदवार देवीकुमारी चौधरीले कोहलपुरलाई शिक्षा, स्वास्थ्य र पूर्वाधारहरुको ‘हब’ बनाउन आफूहरु चुनावी प्रतिस्पर्धामा रहेको बताउनु भयो ।

बैजनाथ, बाँके । बिहीबार नै अध्यक्ष प्रचण्डले बाँकेको बैजनाथ गाउँपालिकाको चुनावी सभालाई सम्बोधन गर्नुभयो । सभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘बैजनाथ गाउँपालिकाको ऐतिहासिक महत्व र भूमिका छ, नेपालको लोकतान्त्रिक आन्दोलनमा यो गाउँपालिकाले रगत र पसिना बगाएको छ, तपाईहरुले हाम्रो पार्टीका उम्मेदवारहरुलाई जिताउनुहोस्, हामी तपाईहरुलाई समृद्ध बैजनाथ गाउँपालिका दिनेछौं ।’ कार्यक्रमलाई माओवादी केन्द्रका तर्फबाट अध्यक्ष उम्मेदवार राजमहान थारुले सम्बोधन गर्नुभएको थियो ।
बारबर्दिया । बर्दियाको बारबर्दिया नगरको चुनावी सभालाई बिहीबार नै अध्यक्ष प्रचण्डले सम्बोधन गर्नुभयो । सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘हामीले १० महिनामा देश र इतिहासले सधैं सम्झने नमूनायोग्य काम गरेका छौं । माओवादीले दश वर्ष देशको नेतृत्व गर्ने अवसर पाए हामीले विकास र समृद्धिमा नेपालको कायापलट नै गर्नेछौं ।’ कार्यक्रममा बारबर्दिया नगरका मेयरका उम्मेदवार दुर्गाबहादुर थारुले सम्बोधन गर्नुभएको थियो ।

ठाकुरबाबा, बर्दिया । बारबर्दियाको सभापछि अध्यक्ष प्रचण्डले ठाकुरबाबा नगरपालिकाको चुनावी सभालाई सम्बोधन गर्नुभयो । सभालाई सम्बोधन गर्दै प्रचण्डले भन्नुभयो, ‘कसैलाई पनि निषेध गरेर राष्ट्रवादी भइँदैन । पहाडलाई मधेशसँग र मधेशलाई पहाडसँग भिडाएर राष्ट्रवादको नारा लगाउनु देशलाई भड्खालोमा जाक्नु हो । माओवादी मात्रै त्यस्तो पार्टी हो, जसले हिमाल, पहाड, तराई मधेश र सबै जाति र शक्तिहरुलाई मिलाएर राष्ट्रिय एकताको पक्षमा उभिएको छ ।’ कार्यक्रमलाई ठाकुरबाबा नगरका मेयरका उम्मेदवार नेत्रराज आचार्यले नगरको विकासबारे आफ्नो प्रतिवद्धता राख्नुभएको थियो ।

टिकापुर, कैलाली । बिहीबार नै अध्यक्ष प्रचण्डले कैलालीको टिकापुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्नुभयो । सभालाई सम्बोधन गर्दै प्रचण्डले भन्नुभयो, ‘टिकापुर ऐतिहासिक भूमि हो । विगतमा यहाँ अप्रिय घटना घट्यो । हिमाल, पहाड र तराई मधेशबीच दुरी बढाउने र एकआपसमा भिडाउने षड्यन्त्र गरियो । तर, अब हामी सबै संयमित भएर राष्ट्रिय एकता बलियो बनाउनै पर्छ ।’
टिकापुर घटना दुखद् घटना भएको स्मरण गर्दै प्रचण्डले भन्नुभयो, ‘टिकापुर घटना दुखद् घटना हो, अब यस्ता घटना कहीँ पनि दोहोरिनु हुँदैन । हामीले घटनामा संलग्न अपराधीहरुलाई उन्मुक्ति दिन सक्दैनौं । तर, घटनामा संलग्न नभएकाहरुमाथि झुट्टा मुद्धा लगाइएको छ भने कोही पनि अन्यायमा पर्नु हुँदैन । सबैमाथि न्याय हुनुपर्छ भन्नेमा माओवादी स्पष्ट छ ।’
टिकापुर । चुनावी सभापछि प्रचण्डले टिकापुरका नेता, कार्यकर्ताहरुलाई संक्षिप्त निर्देशन दिनुभएको थियो । नेता, कार्यकर्तालाई निर्देशन दिँदै प्रचण्डले संयमित भएर निर्वाचनमा लाग्न र स्थानीय निर्वाचनलाई ऐतिहासिक अवसरका रुपमा लिन आग्रह गर्नुभयो । विभिन्न जनसभालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष प्रचण्डले पार्टी प्रवेश गर्ने सयौं नेता, कार्यकर्तालाई स्वागत गर्नुभएको थियो ।

कात्तिक ७, २०८१ बुधबार १३:११:१५