राष्ट्रिय सहमति र समृद्धिको लक्ष्यमा सरकार सफल हुनेछ, ‘प्रधानमन्त्री’

असोज १२, चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सहमति जुटाएर आर्थिक समृद्धि र राजनीतिक स्थिरताको दिशामा अगाडि बढ्न सरकार सफल हुने विश्वास व्यक्त गर्नुभएको छ ।
बुधबार चितवनको दिव्यनगरस्थित आदर्श उच्च माध्यामिक विद्यालयको स्वर्ण महोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘म चुनौतिपूर्ण अवसरको रुपमा प्रधानमन्त्रीको जिम्मेवारीमा छु । उच्च अदालत गठनमा राष्ट्रिय सहमति जुटेको छ । स्थानीय तह निर्धारणमा राष्ट्रिय सहमति जुटेको छ । सबै दलहरुलाई मिलाएर राजनीतिक स्थिरता र समृद्धितिर लैजाने मेरो दायित्व हो । म यो दायित्व पुरा गर्नेछु, राष्ट्रिय सहमतिको वातावरण बनाएर अगाडि बढ्न सफल हुनेछु ।’
कार्यक्रममा पूर्व उपप्रधानमन्त्री अमिक शेरचनले जनताको समृद्धि र प्रगतिका चाहना अनुसार चितवनलाई विशेष प्राथमिकतामा राख्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनु भएको थियो । स्वर्ण महोत्सव समारोहमा शैक्षिक तथा सामाजिक क्षेत्रमा विशिष्ट योगदान गर्ने व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा सम्माननीय प्रधानमन्त्रीले व्यक्त गर्नुभएको मन्तव्यको सम्पादित अंश—प्रधानमन्त्रीको स्वकीय सचिवालय ।
— म संघीय लोकतान्त्रिक गणतन्त्रको दोस्रो प्रधानमन्त्री भएर यहाँ उभिएको छु । आज मैले जीवनको सबै कालखण्ड स्मरण गरेको छु । भूमिगत कालमा यो क्षेत्रमा म निकै समय बसेको छु । नारायणीको तीरमा २०÷२२ वर्षका पाँच जना उत्साही युवाहरु जम्मा भएर नेपालमा केही योगदान गर्ने संकल्प गरेका थियौं । नेपालको भूगोल, संस्कृति, दर्शनको अध्ययन गर्ने संकल्प गरेका थियौं । त्यसको ऐतिहासिक भूमिका थियो भन्ने लाग्छ ।
— अमेक शेरचनजीहरु हामीभन्दा निकै सिनियर हुनुहुन्थ्यो । तर, हामी पाँच जना युवाहरु देशका लागि केही गर्ने संकल्प गरेका थियौं । हामी त्यो कालमा यसै दिव्यनगर वरिपरी बसेर जनताको मुक्तिको संकल्प गरेका थियौं । प्रधानमन्त्रीमा निर्वाचित भएपछि उपत्यका बाहिरको कार्यक्रम चितवन नै प¥यो । मलाई निकै खुसी र गर्वको अनुभूति भएको छ । म आज पुराना ती दिन र संकल्प स्मरण गरिरहेको छु ।
— चितवनमै जन्मिएर हुर्केका कारण चितवनप्रति मेरो सामिप्यता छ । विगतमा ममा अलिकति क्रान्तिकारी रोमान्सवाद थियो । त्यसैका कारण मैले सिंगो देशलाई आफ्नो कार्यक्षेत्र बनाएँ, काठमाडौं र रोल्पाबाट चुनाव लडें । दोस्रो चुनावमा म सिरहाबाट लडें । त्यो बेठिक थिएन । त्यो त्यतिबेलाको राजनीतिक आवश्यकता पनि थियो । अहिले १० वर्षको अनुभवपछि चितवनप्रति जिम्मेवारी बढेको महशुस गरेको छु । चितवन जिल्लाप्रति केही जिम्मेवारी छन् भन्ने कुरा गहिरो गरी बोध भएको छ । जनताको विकास निर्माण र समृद्धिको आकांक्षाप्रति मेरो जिम्मेवारी छ भन्ने ठानेको छु । प्रतिस्पर्धात्मक राजनीतिमा आउँदा विगतमा केही आदर्शवादी भएँ कि भन्ने लागेको छ । चितवनको विकास र जनताको समृद्धिको लागि मैले आफ्नो जिम्मेवारी पूरा गर्नेछु ।
— भरतपूर चनौली हुँदै गोलालघाट जाने बाटोमा मेरो ध्यान गएको छ । म एक्लै यहाँ आएको छैन, प्रधानमन्त्री कार्यालयको टिम यहाँ आएको छ । यो बाटोको अवस्था र समस्याबारे मैले रिपोर्ट लिएको छु । बाटो छिटो सम्पन्न गर्न निर्देशन दिनेछु । प्रधानमन्त्री कार्यालयबाट अनुगमन हुनेछ । मैले जनताकै अगाडि सचिवलाई निर्देशित गरेको छु ।
— हुलाकी राजमार्गको कुरा उठेको छ । हुलाकी मार्ग निर्माणमा पहिलो र दोस्रो चरणको कार्यक्रमबारे भारतीय प्रधानमन्त्रीसँग कुरा गरेको छु । दोस्रो चरणको निर्माण कार्यक्रम छिटै अगाडि बढ्छ । यसले पश्चिम नेपालको प्रगतिमा ठूलै उपलब्धि हुनेछ ।
— भारत भ्रमण निकै महत्वपूर्ण रह्यो । मेरो भ्रमणले नेपाल र भारतबीचको सम्बन्धमा निकै प्रगति भएको छ । अर्को, विगतका सम्झौता कार्यान्वयन गर्न भ्रमण फलदायी भएको छ । जलविद्युत् व्यापारमा पिटिए गरिएको छ । अब हाम्रो विद्युत् भारतमा स्वतन्त्र रुपले बिक्री गर्ने अधिकार पाएका छौं । यो हाम्रा लागि ठूलै उपलब्धि हो । अब नेपालमा ठूला आयोजनामा लगानी गर्ने लगानीकर्ता आकर्षित हुनेछन् । भ्रमणको क्रममा महाकाली लगायतका ठूला विकास आयोजनाको शिघ्र निर्माणबारे पनि कुरा भएको छ । हुलाकी मार्गको पुल निर्माणमा भएको अवरोधबारे जानकारी लिएको छु । तुरुन्तै समाधानका लागि निर्देशन दिएको छु । यो हुलाकी मार्ग बनेर गोलालघाटबाट पुल बन्दा पश्चिम नेपालको आर्थिक विकासमा निकै ठूलो प्रगति हुनेछ ।
— चितवन राष्ट्रिय निकुञ्ज हाम्रो गौरव हो । यसले पर्यटन विकासमा महत्वपूर्ण योगदान गरेको छ । तर, निकुञ्जका बन्यजन्तुका कारण जनताले भोग्नुपरेका समस्याबारे म सचेत छु । यसको व्यवस्थापनका लागि आवश्यक जोड दिनेछु । पर्यटनको प्रवद्र्धन र जनताले भोग्नुपरेका समस्यामा सरकारको ध्यान जानेछ ।
— आदर्श उच्च माविलाई कृषि प्राविधिक शिक्षालय बनाउन माग भएको छ । यसलाई प्राविधिक शिक्षालय बनाउन मेरो सहयोग हुनेछ । चितवनका लागि केही ठूला काम गर्ने ईच्छा छ । म चितवनका केही ठूला काम गरेर मात्र भन्नेछु । चितवनको विकासलाई केन्द्रमा राखेर काम गर्ने प्रयास हुनेछ ।
— म चुनौतिपूर्ण अवसरको रुपमा प्रधानमन्त्रीको जिम्मेवारीमा छु । उच्च अदालत गठनमा राष्ट्रिय सहमति जुटेको छ । स्थानीय तह निर्धारणमा राष्ट्रिय सहमति जुटेको छ । राष्ट्रिय सहमतिको वातावरण बनाएर अगाडि बढ्न सरकार सफल हुनेछ । सबै दलहरुलाई मिलाएर राजनीतिक स्थिरता र समृद्धितिर लैजाने मेरो दायित्व हो । म यो दायित्व पुरा गर्नेछु, सफल हुनेछु । जनताको उर्जा र उत्साह लिएर म काठमाडौं जानेछु ।_DSC1832

कात्तिक ९, २०८१ शनिबार ४:१६:५३