रोल्पालाई विश्वले हेरिरहेको छ, प्रधानमन्त्री प्रचण्ड’

फाल्गुण ६, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धको केन्द्रलाई नेपाल र विश्वले हेरिरहेको बताउनु भएको छ । नेकपा (माओवादी केन्द्र) रोल्पाका नेता, कार्यकर्तालाई सम्बोधन गर्दै प्रचण्डले उक्त कुरा बताउनु भएको हो ।
प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘हिजो जनयुद्धको बेला पनि रोल्पा राजनीतिको केन्द्रमा थियो, अहिले शान्तिपूर्ण राजनीतिमा पनि रोल्पा नेपाल र विश्व समुदायकै केन्द्रमा छ । रोल्पामा विश्वको नजर छ । तपाईहरुले कसरी भूमिका खेल्नुहुन्छ, त्यसले माओवादी आन्दोलनकै भविष्य निर्धारण गर्छ ।’
जनयुद्धमा रोल्पाले गरेको त्याग र बलिदान अनुसार माओवादी पार्टीले रोल्पाको सम्मान गरेको प्रधानमन्त्रीले बताउनु भयो । प्रधानमन्त्रीले भन्नुभयो, ‘हिजो रोल्पाले निकै ठूलो त्याग, बलिदान गरेर संघीय गणतन्त्रको युगमा आयौं । आज हामीले रोल्पाको बलिदानअनुसार सम्मान गरेका छौं । राज्यका पाँच प्रमूख सम्माननीय पदमध्ये उपराष्ट्रपति र सभामूख रोल्पाकै हुनुहुन्छ, उपप्रधानमन्त्री रोल्पाकै हुनुहुन्छ । हिजो पनि धेरै जना नेताहरु मन्त्री हुनुहुन्छ । रोल्पाको विकासलाई पनि हामीले उच्च प्राथमिकतामा राखेका छौं ।’
प्रशिक्षणमा प्रधानमन्त्रीले सरकार निर्वाचन घोषणाको तयारीमा रहेको भन्दै पार्टीलाई विजयी बनाउन जनतामा जान कार्यकर्तालाई निर्देशित गर्नुभयो । कार्यक्रममा माओवादी केन्द्रका नेता दीपेन्द्र पुनले पार्टीको जिल्लाको वस्तुस्थितिबारे अवगत गराउनु भएको थियो ।

कर्मचारीलाई सामूहिक निर्देशन
लिवाङ । रोल्पा महोत्सवको उद्घाटन गर्न रोल्पा पुग्नुभएका प्रधानमन्त्रीले जिल्लास्थित सरकारी कार्यालयका कर्मचारीहरुलाई सामूहिक निर्देशन दिनुभएको छ । निर्देशन दिँदै प्रधानमन्त्रीले भन्नुभयो, ‘हिजो र आज राजनीतिक तहमा राम्रो छलफल भएको छ । निर्वाचनमा जान प्रमूख दल र नेताहरु सम्वेदनशील छन् । सरकारले छिटै निर्वाचनको घोषणा गर्दैछ । तपाईहरुले जिल्लामा निष्पक्ष र भयरहित निर्वाचनको वातावरण बनाउन आजैदेखि लाग्नुहोस् ।’
निर्देशनका क्रममा प्रधानमन्त्रीले जनताले परिवर्तनको महशुस हुने गरी सेवा प्रवाह गर्न पनि कर्मचारीलाई निर्देशित गर्नुभएको छ ।

कात्तिक ८, २०८१ बिहीबार १८:८:९