लोकतन्त्रका पक्षमा उभिन नेता–कार्यकर्तालाई अध्यक्ष प्रचण्डकाे निर्देशन (भिडियाे)

काठमाडौंः नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आँखा अगाडि परिवर्तनमाथि यत्ति ठूलो प्रहार भएकाे भन्दै नेता–कार्यकर्तालाई लोकतन्त्रका पक्षमा उभिन निर्देशन दिनुभएकाे छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)काठमाडौ जिल्ला कमिटीद्वारा आयोजितबृहद कार्यकर्ता भेलालाई सम्बाेधन गर्दै अध्यक्षले आफूहरू उखानटुक्काले हसाएर कमेडी सो देखाउन जुटेकाे नभइ स्थापित परिवर्तनमा मुद्दा एम्बुसमा परेपछि एकजुट भएकाे बताउनुभयाे ।

‘केपी ओलीले राजनीतिक जोकरपन देखाउनुभयो । जोकरका पछाडि कोही पनि लाग्दैनन् । साथीहरू त पोलिटिकल जोकरजस्तो लाग्छ,’ उहाँले भन्नुभयाे ।

अध्यक्ष प्रचण्डले पार्टीले काम गर्न नदिएको भन्ने प्रधानमन्त्रीकाे आराेपप्रति एउटा प्रमाण दिन प्रम ओलीलाई चुनौती दिनुभयाे । प्रतिनिधिसभा भंग गर्दा प्रधानमन्त्री ओलीले पार्टीले घेराबन्दी ग-यो, काम गर्न दिएन भनेर दाबी गरेको भन्दै उहाँले भन्नुभयाे, ‘केपी ओलीजीलाई मेरो चुनौती छ, पार्टीले काम गर्न नदिएको एउटा प्रमाण दिनुस् । कुन काममा भाँजो हाल्यो ?’

उहाँले ओलीले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको मुटुमा छुरा हानेको बताउनुभयाे । अध्यक्ष प्रचण्डले जबज छोड्ने पहिलो व्यक्ति ओली भएको बताउँदै भन्नुभयाे, ‘अहिले भ्रम छर्न खोजेका छन्, तर जबज छोड्ने पहिलो व्यक्ति केपी ओली हो, जबज छोड्ने पहिलो व्यक्ति केपी ओली हो । केपी ओली नै हो ।’

उहाँले अदालत र निर्वाचन कसैको सेटिङमा नचल्ने बताउनुभयाे । उहाँले अगाडि भन्नुभयाे, ‘केपी ओलीले अदालत र निर्वाचनसँग सेटिङ मिलाइसकेका छन् भन्ने आम जनतामा आशंका छ । त्यो हुनै सक्दैन । म सेटिङ भन्ने शब्द नै सुन्न चाहँदैन ।’ ओलीले हजारौं शहीदको अपमान गरेको भन्दै त्यसकाे साक्षी आफू बस्न नसक्ने बताउनुभयाे ।

कात्तिक ७, २०८१ बिहीबार २:१६:१२