‘वर्तमान सरकारले भूमि समस्या समाधान नगरे देश बर्बाद हुन्छ’

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले वर्तमान सरकारमा अधिकांश मन्त्रीहरु किसानका छोराछोरी भएको बताउनुहुँदै किसानका छोराछोरीबाट पनि भूमि सम्बन्धी समस्या हल नभए देश बर्बाद हुने बताउनुभएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधवार अपरान्ह राष्ट्रिय भूमि अधिकार मञ्च नेपालको कार्यक्रममा उहाँले भन्नुभयो, ‘अहिले पनि भूमी सम्बन्धी समस्या समाधान गर्न सकिएन भने देश बर्बाद हुन्छ भन्ने हाम्रो चिन्ता छ । राष्ट्रकै अस्तित्व खतरामा पर्छ भन्ने चिन्ता छ ।’

अध्यक्ष प्रचण्डले भू–उपयोग नीति बनेको तर कानूनको अभावमा कामलाई अगाडि बढाउन कठिनाई परेको जानकारी दिँदै अहिले आफूहरु कानून निर्माणको प्रक्रियामा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी सबैको एउटै मुद्धा र उद्देश्य छ । कृषिमा भूमिको समस्या समाधान नगरी अरु सबै कुरा हवाई हुन जान्छन् । आधारभूत कुरा भनेकै भूमि व्यवस्थापन नै हो ।’

देशमा राजनीतिक स्थायित्व दिने हिसावले आफूहरु अगाडि बढेको प्रस्ट्याउँदै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘पार्टी एकताको घोषणाको तयारी मात्र बाँकी छ । एकता घोषणाको तयारी गर्दैछौं ।’ सकेसम्म छिटो पार्टीलाई एउटै बनाउने र साझा घोषणापत्रमा आफूहरुले जनता माझ गरेका संकल्पलाई दह्रोसँग कार्यान्वय गर्ने प्रक्रियामा रहेको उहाँको भनाई थियो ।

उहाँले सुकुम्वासी भूमी सम्बन्धी तमाम समस्याहरु समाधान गर्न कृषि मन्त्रालय, भूमि व्यवस्थापन मन्त्रालय र पशुपक्षी मन्त्रालय सबै एकै ठाउँमा केन्द्रित भएको बताउनुभयो ।

prachand

कात्तिक ८, २०८१ बिहीबार २०:४:२७