विचार र निष्‍ठाको आधारमा समाज अगाडि बढ्नु पर्छः अध्यक्ष प्रचण्ड (भिडियो)

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विचार र निष्‍ठाको आधारमा समाज अगाडि बढ्नु पर्ने बताउनुभएको छ । शुक्रबार सहिद कृष्ण सेन इच्छुकको २० औँ स्मृति दिवसको अवसरमा प्रेस सेन्टर नेपाल र जनसांस्कृतिक महासंघ नेपालले काठमाडौंमा संयुक्त रुपमा आयोजना गरेको अन्तर्क्रिया तथा पुरस्कार प्रदान समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘विचारको आधारमा होइन, कुनै निष्‍ठाको आधारमा कुनै एउटा महान् उद्देश्य राखेर त्यसको निम्ति सर्मपण, त्यागको आधारमा समाज अगाडि बढ्नुपर्दछ ।’ अध्यक्षले क्षणिक, व्यक्तिगत स्वार्थको निम्ति अस्वस्थ प्रतिस्पर्धामा समाज गइराखेको आफूलाई भान हुने गरेको बताउनुभयो ।

उहाँले नेपाली समाज विचार र निष्‍ठाको आधारमा नचलेको बताउनुहुँदै क्षणिक, व्यक्तिगत स्वार्थको निम्ति समाजमा अस्वस्थ प्रतिस्पर्धा हुन थालेको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो– ‘हामीले चाहना त निकै राम्रो राज्य, निकै राम्रो समाज निर्माण गर्ने भनेका छौँ । हामीले कुरा पनि गरेका छौँ । तर हाम्रो दिन दिनैको काम कारबाहीहरू चाहिँ हाम्रो भनाइसँग तालमेल भइराख्या छैन । कहीँ न कहीँ हाम्रो सिस्टमभित्र अहिले पनि थुप्रै खोटहरू छन् ।’

अध्यक्षले भन्नुभयो, ‘त्यसकारण आज हामीले इच्छुकको बारेमा र अरु तमाम सहिदहरुलाई स्मरण गर्दै गर्दा हामीले यो विषयलाई त्यही गम्भीरताको साथ लिन जरुरी छ । र हामी एउटा नयाँ अनुसन्धान, नयाँ आविष्कार र नयाँ क्रान्ति, नयाँ अभियानको खोजीमा केन्द्रीत हुन जरुरी छ ।’ उहाँले त्यसले मात्रै आफूहरुले वर्ग, समाज र राष्ट्रका लागि केही दिन सक्ने बताउनुभयो। उहाँले नयाँ खालको अनुसन्धान, आविष्कार र अभियानको खोजीमा केन्द्रित हुन जरुरी रहेको पनि औंल्याउनु भयो ।

कात्तिक ७, २०८१ बुधबार ७:२१:५४