शान्ति र संविधान विश्वकै लागि मौलिक र शिक्षाप्रद, ‘प्रधानमन्त्री’

माघ ५, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको शान्ति र संविधान निर्माण प्रक्रिया विश्व समुदायकै लागि मौलिक र शिक्षाप्रद रहेको बताउनु भएको छ । बुधबार दिउँसो न्यूयोर्क यूनिभर्सिटीको प्रतिनिधि मण्डलसँगको भेटमा प्रधानमन्त्रीले उक्त कुरा बताउनु भएको हो ।
प्रतिनिधि मण्डलसँगको भेटमा प्रधानमन्त्रीले भन्नुभयो, ‘विश्वमा युद्ध र शान्तिका थुप्रै उदाहरणहरु छन् । थोरै देशमा मात्रै शान्ति प्रक्रिया सफलतामा पुगेका छन् । तर, नेपालको शान्ति प्रक्रिया र संविधान निर्माण प्रक्रिया आफैमा मौलिक छ, विश्व समुदायका लागि शिक्षाप्रद छ । हाम्रो शान्ति प्रक्रियाले युद्धरत देशहरुले राजनीतिक सम्वाद र सहकार्यका माध्यमबाट कुनै पनि समस्याको समाधान खोज्न सकिन्छ भन्ने सन्देश दिएको छ ।’
नेपालको जस्तो शान्ति प्रक्रिया विकसित मुलूकमा भएको भए त्यसले थप महत्व पाउने उल्लेख गर्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘तर शान्ति प्रक्रिया नेपालजस्तो विकासशील मुलूकमा सफल भयो । कतिपय देश र समुदायले यसलाई खासै महत्व दिएको देखिँदैन । नेपालको जस्तो शान्ति र संविधान निर्माण्णको प्रक्रिया मौलिक ढंगले युरोप वा अमेरिकी देशमा सम्पन्न भएको भए त्यसले विश्व स्तरमै छुट्टै महत्व पाउथ्यो । त्यसलाई विश्वमा शान्ति स्थापनाको युगान्तकारी र मौलिक कदम ठानिन्थ्यो ।’
प्रधानमन्त्रीले माओवादीको नेतृत्वमा सञ्चालित जनयुद्ध राजनीतिक उद्धेश्यद्वारा प्रेरित भएको स्पष्ट पार्नुभयो । प्रधानमन्त्रीले भन्नुभयो, ‘माओवादीको नेतृत्व चलेको जनयुद्ध कुनै आतङ्ककारी गतिविधि थिएन । यो निश्चित राजनीतिक र दार्शनिक मान्यता बोकेर अघि सारिएको राजनीतिक सङ्घर्ष थियो । राज्यसत्ताको मूल प्रवाहबाट बिमूख रहेका वर्ग, जाति, लिङ्ग, समुदायको अधिकार, राष्ट्रको स्वाभिमान र प्रगतिका लागि गरिएको राजनीतिक लडाई थियो । राजनीतिक उद्धेश्यद्वारा प्रेरित हुदैनथ्यो भने हामी आफैले पहल लिएर शान्ति प्रक्रियाको आरम्भ हुने थिएन । लोकतान्त्रिक सङ्क्रमण र राजनीतिक अग्रगमनको परिस्थिति निर्माण हुने थिएन ।’

कात्तिक ६, २०८१ बुधबार ५:७:१२