‘शान्तिको महत्व सबैभन्दा बढी युद्धमा सहभागीहरूले नै बुझेका हुन्छन्’ (भिडियाे)

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युद्धमा सहभागीहरुले नै शान्तिको महत्व सबैभन्दा बढी बुझेको बताउनुभएको छ । बिहीबार पूर्व प्रधानमन्त्री सुर्यबहादुर थापाको आत्मकथा पुस्तक विमोचन समारोहमा बोल्दै अध्यक्ष प्रचण्डले विश्वमा भएका ठुला ठुला क्रान्ति, युद्ध र शान्तिका श्रीङ्खलालाई हेर्ने हो भने युद्ध गर्नेहरुलाई नै शान्तिको महत्व हुने गरेको तथ्य रहेको उल्लेख गर्दै नेपालमा शान्तिको सबैभन्दा ठुलो पक्षपाति माओवादी भएको बताउनुभयो ।

अध्यक्ष प्रचण्डले आफूहरु शान्ति प्रक्रियामा आएको १५ वर्षभन्दा बढी भइसक्दा पनि हेर्ने दृष्टिकोण नफेरिएको र अहिले पनि माओवादी उस्तै छ भन्ने भ्रम रहेको टिप्पणी गर्नुभयो । उहाँले मानवता, लोकतन्त्र र शान्तिप्रतिको लगाव र निष्ठा भएकै कारण माओवादीले शान्ति सम्झौता मार्फत देशमा शान्ति, लोकतन्त्र र समृद्धिको निम्ति पहकदमी लिएको बताउनुभयो । माओवादी शान्ति प्रिय भएकै कारण जनताको शान्तिको चाहानासँग एकाकार भएको उहाँको भनाइ थियो ।

युद्धले शान्ति ल्याएको, शान्तिले देशलाई गणतन्त्रमा पुर्याएको ,गणतन्त्रले सबैलाई समानता र सामाजिक न्याय दिने तर्फ अघि बढाएको कुरा सबैले स्मरण गर्नुपर्नेमा अध्यक्ष प्रचण्डको जोड थियो । ‘अहिले पनि माओवादी उस्तै छ कि भन्ने भ्रम छ । अहिले हामी शान्ति प्रक्रियामा सहभागी छौं । हामी उस्तै छौ भन्ने विभ्रम त्यागौं । युद्धले शान्ति ल्याएको छ नेपालमा । युद्धले शान्ति संबिधान लोकतन्त्र ल्याएको हो । माओवादी तपाईँको भवना र शान्तिको चाहनासंग एकाकार छ भन्ने विश्वाश दिलाउन चाहन्छु’ अध्यक्षले भन्नुभयो ।

पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापालाई सम्झिँदै अध्यक्ष प्रचण्डले थापाले पछिल्लो समय हरेक राजनीतिक विषयमा प्रचण्डसँग छलफल गर्नुपर्ने धारणा व्यक्त गर्ने गरेको बताउनुभयो । ‘हरेक राजनीतिक संवाद र सहमति प्रचण्डसँग कुरा नगरी हुँदैन है भन्नुहुन्थ्यो । उहाँ अभिभावक जस्तो भूमिकामा हुनुहुन्थ्यो । पछिल्लो चरणमा उहाँ अभिभावक बनेर प्रस्तुत हुनुभयो,’ उहाँले भन्नुभयो। पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाले सकारात्मक रुपमा होस् वा नकारात्मक रुपमा सरदर भन्दा माथि उठेर नेपाली राजनीतिका भुमिका निर्वाह गरेको समेत बताउनुभयो ।

असोज ४, २०८१ शुक्रबार २०:२४:५७