शिक्षक र बुद्धिजीवीदेखि ओली तर्सिन्छन्: अध्यक्ष प्रचण्ड

काठमाडौं। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओली शिक्षक तथा बुद्धिजीवीहरूसँग तर्सने पनि बताउनु भएकाे छ। प्रधानमन्त्री ओलीले आफूले जे भन्यो त्यही मान्ने हनुमान र अन्धभक्त मात्रै मन पराउने पनि उहाँले बताउनुभयाे। ‘उहाँलाई आफूले जे भन्यो त्यही मान्ने हनुमान चाहिएको हो। शिक्षकहरू क्रान्तिकारी हुन्छन्,’ उहाँले भन्नुभयाे, ‘शिक्षक र बुद्धिजीवीदेखि ओली तर्सिन्छन्।’

अध्यक्षले संविधान कुल्चेर प्रतिगमनको वकालत गरिरहेको बताउनुभयाे। सोमबार काठमाडौंमा आयोजित एकीकृत अखिल नेपाल शिक्षक संगठनको प्रथम राष्ट्रिय परिषद बैठकमा प्रचण्डले मुलुकमा निरंकुशता लाद्ने ओलीको सपना कहिल्यै पूरा नहुने जिकिर गर्नुभयाे ।

‘संविधानलाई कुल्चेर केपीले प्रतिगमन गर्नुभएको छ, निरंकुशता लाद्न खोजिरहनु भएको छ,’ उहाँले भने,‘उहाँको यो सपना कहिल्यै पूरा हुँदैन। हामी निरंकुशता लाद्ने प्रक्रिया परास्त गर्ने प्रक्रियामा लागि सकेका छौं,’ उहाँले भन्नुभयाे । ओलीको प्रतिक्रान्तिविरुद्ध एक भएर वैचारिक र राजनीतिक आन्दोलनमा लाग्न शिक्षकहरुलाई उहाँले आग्रह गर्नुभयाे। अध्यक्षले एकता प्रक्रिया र महाधिवेशन दुबै नभएर पार्टी विभाजन भएको बताउनुभयाे। पार्टी एकीकरणका कुनै पनि जनवर्गीय संगठनले पूर्णता नपाएको उहाँकाे भनार्इ थियाे ।

अध्यक्ष प्रचण्डले ओली अहिले रक्षात्मक अवस्थामा पुगिसकेको दाबी गर्दै भन्नुभयाे, ‘केपी ओली अब रक्षात्मक हुने गतिमा गइसके। अस्तिसम्म त धाकधक्कु लगाउँथे। अस्तिको कार्यक्रममा सुरक्षा संगठनका मान्छेले गन्दा पनि तीस हजारभन्दा बढी देखिएनन्। अहिले उनीहरूनै धेरै मान्छे किन ल्याउन सकिएन भनेर एकअर्कामा गाली गर्दै हिँडेका छन्।’

आफूहरु शान्ति समृद्धिको पक्षमा उभिएकोले आफूहरुले पाउने जित कसैले रोक्न नसक्ने उहाँले बताउनुभयाे। उहाँले अहिले भइरहेको आन्दोलन र संघर्ष पदप्राप्तिको नभएको समेत बताए। प्रचण्डले भने, ‘पार्टी एकता भएर देशमा एउटा नयाँ भरोसा, ऊर्जा, उत्साह पैदा भएको थियो। निर्वाचनमा एउटै घोषणापत्रसहित दुईवटा कम्युनिस्ट पार्टी चुनावमा जाँदा सबैमा नयाँ ऊर्जा, उत्साह पैदा भएको थियो।’

उहाँले शिक्षकहरू अपमानित भएर बाँच्नु परेको बताउनुभयाे। शिक्षकहरू समाज, नागरिकको चेतनाको वाहक भए पनि तदनुकूलको जीवनयापन गर्न नपाएको अध्यक्ष प्रचण्डको भनाई छ। उहाँले शिक्षकहरूको अहिलेको वस्तुगत अवस्था नियाल्दा दोस्रो दर्जाको जीवन बाँचिरहेको आभास हुने बताउनुभयाे।

उहाँले केपी ओली नेतृत्वको सरकारले शिक्षकको सेवा-सुविधा वृद्धिको फाइल मन्त्रिपरिषद्‌मा थन्क्याएर राखिएको उल्लेख गर्दै अहिलेको ‘प्रतिगमन’ सच्चिएपछि मन्त्रिपरिषद्‌मा थन्किएका फाइल, प्रतिवेदनहरू कार्यान्वयनमा आउने अध्यक्ष प्रचण्डले जिकिर गर्नुभयाे।

कात्तिक ७, २०८१ बुधबार ११:२२:११