संविधान मिचिसकेपछि त्यसको मातहतमा हुने चुनाव पनि असंवैधानिक हुन्छः अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान मिचिसकेपछि त्यसको मातहतमा हुने चुनाव असंवैधानिक र अलोकतान्त्रिक हुने बताउनुभएको छ । मंगलबार बिहान विदेशी सञ्चारमाध्यमका प्रतिनिधिहरूसँगको भेटघाटमा उहाँले यस्तो बताउनुभएको हो ।

अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली ‘विक्षिप्त’ रूपमा प्रस्तुत भएको बताउनुभयो । उहाँले सर्वोच्च अदालतले संविधानको भावना अनुसार नै फैसला गर्छ भन्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयोे, ‘संविधानभन्दा बाहिर गएर असंवैधानिक र अलोकतान्त्रिक ढंगले गरिएको निर्णयलाई सदर गर्छ भन्ने लागेको छैन ।’

अध्यक्ष प्रचण्डले अघि भन्नुभयोे, ‘जहाँसम्म त्यस्तै भयो भने के हुन्छ ? प्रश्न तपाईंहरुको छ, म अहिले धेरै त भन्दिनँ । तर असंवैधानिक र अलोकतान्त्रिक ढंगले संविधान मिचिसकेपछि त्यसको मातहतमा हुने चुनाव पनि असंवैधानिक र अलोकतान्त्रिक नै हुन्छ ।’ ओली समूहले निर्वाचन आयोग तथा सर्वोच्च अदालतजस्ता संवैधानिक निकायसँग साँठगाँठ मिलाइसकेको भएर अब संसद् पुनस्र्थापना नहुने दाबी गर्दै हिँडेको प्रचण्डले आरोप लगाए।

ओलीले निर्वाचन गराउन खोजेका हुन् भन्ने आफूहरुलाई नलागेको उहाँले बताउनुभयो । ‘अब त वैशाखमा चुनाव हुन सक्दैन भन्ने लगभग पुष्टि भइसक्यो,’ अध्यक्षले भन्नुभयो, ‘अदालतमा चलेको बहस तपाईहरुले हेर्नुभएकै छ, निर्वाचन आयोगको काम पनि देख्नु भएको छ, दलहरुको पनि ।’ त्यसकारण यदि प्रधानमन्त्रीको असंवैधानिक र निरंकुश कदमलाई सदर गरियो भने नेपाल निक्कै ठूलो राजनीतिक भूमरीमा पर्छ ।’

अध्यक्ष प्रचण्डले ओली हिन्दु महासंघको अध्यक्ष हुन् कि कम्युनिस्ट पार्टीको अध्यक्ष भन्ने बारेमा प्रश्न उठेको बताउनुभयो । ‘विगतदेखि नै उहाँको सम्बन्ध, हिमचिम देखिएको छ । उहाँले पशुपतिमा गएर दीप प्रज्वलन गर्ने, ३० करोड हाताहाती जस्तो दिएर जलप लगाउने कुराले के गर्न खोज्नु भएको भन्ने उहाँले नै प्रश्न उठाउनु भएको छ । मेरो निर्वाचन क्षेत्र चितवनमा राम मन्दिर र अयोध्याको कुरा गर्नुभएको छ, ’ उहाँले भन्नुभयो, ‘मेरो क्षेत्रमा गएर राम मन्दिर र अयोध्याबारे प्रचण्डले बोलेन भनेर आरोप लगाउनु भएको छ। यो सबैले मान्छेको मनमा प्रश्न उठेकै छन् नि । नेपाली जनताले प्रश्न उठाएका छन् । केपीजी कम्युनिस्ट पार्टीको अध्यक्ष हो कि हिन्दु महासंघको अध्यक्ष हो ?’

अध्यक्ष प्रचण्डले अहिले चलेको लडाइँ पदको निम्ति नभई न्याय र अन्यायको निम्ति भएको स्पष्ट पार्नुभयो । उहाँले ओलीलाई सत्ताको मात लागेको तानाशाहको संज्ञा दिनुभयो ।

कात्तिक ७, २०८१ बुधबार १३:१२:२८