शिक्षामा रहेको अवैज्ञानिकताका कारण समाजमा अन्धविश्वासः अध्यक्ष प्रचण्ड

काठमाडौं, ३ बैशाख । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले वर्तमान शिक्षामा रहेको अवैज्ञानिकताका कारण समाजमा अन्धविश्वास कायमै रहेको बताउनु भएको छ ।
एकीकृत अखिल नेपाल शिक्षक संगठनद्वारा साेमबार राजधानीमा आयोजित ‘नेपालको विशिष्टतामा समाजवादी शिक्षाको प्रारुप’ विषयक एक दिवसीय शैक्षिक कार्यशालामा उहाँले यस्तो बताउनु भएको हो ।

उहाँले भन्नुभयो, ‘हाम्रो संविधानले निर्दिष्ट गरेको समाजवाद उन्मुख राज्य निर्माणको प्रक्रियामा छौं । समाजवाद निर्माणमा निजी, सार्वजनिक र सरकारी क्षेत्रको कुरा गरेको छौं । यी तीन वटै क्षेत्रलाई आर्थिक विकासका सन्दर्भमा मात्र होइन, सामाजिक विकासका सन्दर्भमा पनि सहकार्य मार्फत मात्रै २१ औं शताब्दीमा हाम्रो आफ्नो मौलिक प्रक्रियाबाट समाजको विकास गर्न सकिन्छ भन्ने परिकल्पना गरेका छौं ।’

अध्यक्षले शिक्षा क्षेत्रमा सुधारको कुरा गर्दा समाजवाद उन्मुख राज्य दिमागमा रहनुपर्ने बताउनु भयो । अहिलेसम्म अवलम्बन गरिएको शिक्षा प्रणाली समाजवाद उन्मुख नभएर पूँजीवाद, व्यक्तिवाद अझ उपभोक्तावाद उन्मुख भएको अध्यक्ष प्रचण्डको धारणा थियो ।

अध्यक्षले अब नेपालमा स्वरोजगार र आत्मनिर्भर शिक्षा प्रणालीको खोजी गर्न शिक्षकहरुलाई आग्रह पनि गर्नुभयो । उहाँले भन्नुभयो,‘ एउटा शिक्षकलाई दोष दिने र अर्को राज्यलाई दोष दिने दुबै बेठीक हुन् तर मुख्य जिम्मेवारी त राज्यको नै पहिलो हुनुपर्छ ।’

अध्यक्ष प्रचण्डले अर्को प्रसंगमा अहिले आफू पार्टी एकता प्रक्रियालाई निश्कर्षमा पुर्याउने अत्यन्त गम्भीर दायित्वमा रहेको स्पष्ट गर्दै आज बिहान मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीसँग अढाइ घण्टा छलफल भएको बताउनु भयो । उहाँले बिहान भएको छलफलमा दुबै नेताहरुले आज दिनभरि र भोलि बिहानसम्म पार्टी एकताबारे गृहकार्यको जिम्मेवारी लिएको जानकारी गराउनु भयो । उहाँले भन्नुभयो, ‘भोलि ९ बजे हामी संयोजन समितिको बैठक मार्फत अगाडि बढ्ने भन्ने कुरा भएको छ ।’

 

कात्तिक ६, २०८१ बुधबार २:४६:०