संघीयताले सिंहदरबारको अधिकार गाउँ–गाउँमा लैजानेछ, ‘प्रधानमन्त्री’

फाल्गुण ६, लिवाङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीयताले सिंहदरबारमा केन्द्रित रहेको अधिकारलाई गाउँ–गाउँसम्म लैजाने बताउनु भएको छ । रोल्पा उद्योग वाणिज्य संघले रोल्पाको लिवाङमा आयोजना गरेको प्रथम रोल्पा महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताउनु भएको हो ।
महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘संविधान कार्यान्वयन हाम्रो सबैभन्दा ठूलो प्राथमिकता हो । अहिलेको संविधानले स्थानीय तहलाई धेरै नै शक्तिशाली बनाएको छ । अधिकार गाउँपालिका र नगरपालिकातिर फर्काइएको छ । स्थानीय तहमै व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको व्यवस्था छ । यो इतिहासको सबैभन्दा ठूलो अधिकार र उपलब्धि हो । संघीयताले सिंहदरबारमा केन्द्रित भएर बसेको अधिकारलाई गाउँ–गाउँसम्म लैजाने छ । त्यसैले पनि स्थानीय तहको निर्वाचनको कुनै बिकल्प छैन ।’
नेपालको राजनीतिक र सामाजिक परिवर्तनमा रोल्पाको युगान्तकारी देन रहेको प्रधानमन्त्रीले बताउनु भयो । प्रधानमन्त्रीले भन्नुभयो, ‘अहिले हामी संघीय गणतान्त्रिक नेपालमा छौं । सामन्ती युगको अन्त्य गरेर संघीय गणतन्त्रको स्थापनामा रोल्पाको मूख्य भूमिका छ । नेपालको राजनीतिक र सामाजिक परिवर्तनमा रोल्पाको युगान्तकारी देन छ । रोल्पामा नेपालको मात्र नभएर युरोप, अमेरिका, चीन, भारतजस्ता शक्तिले पनि हेरिराखेका छन् । यहाँबाट तपाईहरुले दिने सन्देशले राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा गुणात्मक अर्थ राख्दछ ।’
समसामयिक राजनीतिक परिस्थितिबारे बोल्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘संविधान कार्यान्वयन यतिबेलाको मूख्य कार्यभार र चुनौति पनि हो । सहमतिमा निर्वाचन गर्न र देशलाई निकास दिन सरकार गम्भीर रुपले लागिरहेको छ । अब देश निर्वाचनको प्रक्रियामा जान्छ र जनयुद्धले स्थापित गरेका राजनीतिक र सामाजिक मुद्दाहरु व्यवहारमै कार्यान्वयन हुनेछन् ।’
रोल्पाको विकासबारे बोल्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘राजनीतिक परिवर्तनले मात्रै जनताको पेट भरिन्न, नाङ्गो आङ ढाकिन्न । अब हामीले विकासको युगको सुत्रपात गर्नुछ । विकासले मात्रै हाम्रा चाहनाहरुको सम्बोधन गर्न सक्छ । मेरो नेतृत्वको सरकार संविधान कार्यान्वयन गर्ने र आर्थिक समृद्धि हासिल गर्ने मिसनमा अगाडि बढिरहेको छ ।’
महोत्सवमा उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महरा, पूर्वअर्थमन्त्री वर्षामान पुन ‘अनन्त’ लगायतका वक्ताहरुले परिवर्तनको आन्दोलनमा रोल्पाको अग्रणी योगदान रहेको भन्दै अब विकास र समृद्धिमा पनि अग्रता लिनुपर्ने बताउनु भयो ।

रोल्पा जिल्लाको विकासबारे प्रधानमन्त्री प्रचण्डले व्यक्त गर्नुभएको जानकारी र प्रतिवद्दता :
१. वर्तमान सरकारले लिवाङ्ग दारवोट सडकको लागि रु. ३५ करोड, लिवाङ्ग धान्सी जलजला सडकको लागि रु. ३५ करोड, लिवाङ्ग माडीचौर जिनावाङ्ग सडकको लागि रु. १५ करोड र सुलिचौर फुलिवन थवाङ्ग सडकको लागि रु. ३३ करोड बजेट व्यवस्था गरेको छ ।
२. सहिद मार्गको घोराही घर्तिगाउँ खण्डको कालोपत्रेलाई तिव्रता दिएर चाँडै पूरा गरिनेछ । यसका साथै होलेरी थबाङ खण्डको स्तरोन्नति गरेर कालोपत्रे गरिनेछ । लिवाङ दार्बोट, लिवाङ घर्तिगाउँ, सुलीचौर पोवाङ, होलेरी स्वर्गद्वारी सडक स्तारोन्नति गरेर छिटोभन्दा छिटो कालोपत्रे गरिनेछ ।
३. यसैगरी रोल्पा जिल्लाभर वर्तमान सडक सञ्जाल विस्तारका लागि सरकारले विभिन्न ११३ वटा सडक योजनाका लागि रु. ४२ करोड रुपैयाँ व्यवस्था गरेको छ ।
४. रोल्पा जिल्ला सदरमुकाममा रहेको १५ शैयाको रोल्पा जिल्ला अस्पताललाई स्तरोन्नति गरी १०० शैयाको अस्पताल बनाइने घोषणा गर्दछु ।
५. रोल्पा जिल्लाको पूर्वी क्षेत्रका जनतालाई सहज स्वास्थ्य सुविधाको लागि सुलिचौरमा रहेको प्राथमिक स्वास्थ्य केन्दलाई सुविधा सम्पन्न अस्पतालको रुपमा विकास गरिने छ ।
६. रोल्पाली जनताले विद्युतीकरणका लागि घरघरबाट रकम उठाउनु भएको भन्ने मैले सुनेको छु । म यसै मञ्चबाट रोल्पा जिल्लाका सबै गा.वि.स.हरुमा आगामी २ वर्षभित्र विद्युतीकरण गरिसक्ने गरी सरकारले रु. २९ करोड रकम व्यवस्था गरिसकेको जानकारी गराउँछु । म घोषणा गर्न चाहन्छु कि अब विजुलीका लागि जनताले पैसा उठाउनुपर्ने छैन । जस—जसले पैसा उठाउनु भएको छ, त्यो पैसा जनतालाई फिर्ता गरिनेछ । सरकारले आफै नै रोल्पाका गाउँ गाउँमा बिजुली पु¥याउने छ । यो प्रक्रिया पनि सुरुवात भइसकेको छ ।
७. म माडी र लुंग्रीमाखोलाको जलविद्युत् सम्भावना बारेमा जानकार छु । म यसै अवसरमा सरकारले १२ मेगावाट क्षमताको माडी जलविद्युत आयोजनाको निर्माण कार्य छिटो अगाडि बढाउने घोषणा गर्दछु ।
८. जिल्लाको बडाचौरमा विमानस्थल पुनःनिर्माणको प्रक्रिया सुरु भइसकेको छ । यो विमानस्थल निर्माणको लागि बजेट अभाव हुन नदिने र शीघ्रातिशीघ्र काम अगाडि बढाइने जानकारी गराउँछु ।
९. रोल्पा समृद्धिको एउटा आधार पर्यटन हो । यहाँको युद्ध पर्यटनको सम्भावना अरु जिल्लासँग तुलना हुन सक्दैन । युद्ध पर्यटनको रुपमा गैरीगाउँको टिलामा जनयुद्ध संग्रहालय निर्माण गरिनेछ ।
१०. राङ्सीमा पनि पूर्वाधारहरुको संरक्षण र निर्माण गरी युद्ध पर्यटकीय क्षेत्रको रुपमा विकास गरिनेछ । जलजला संरक्षण क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरिनेछ । जंकोटमा मगर सांस्कृतिक संग्रहालय, थवाङको फुन्टिवाङमा जनयुद्ध स्मृति स्मारक, जलजलामा सहिद स्मृति स्तम्भ निर्माण गरिनेछ । लिवाङमा सहिद प्रतिष्ठान भवन निर्माणमा सरकारको सहयोग हुनेछ ।
११. स्वर्गद्वारी महाप्रभुको जन्म र तपस्यास्थल रुन्टी र गढीलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गरिनेछ । रोल्पाको पर्यटन क्षेत्रको लागि एकीकृत पर्यटन गुरुयोजना तयार पारी लागू गरिनेछ ।
१२. रोल्पाको अर्को पहिचान अल्लो पनि हो । यहाँबाट थुपै्र अल्लो उत्पादन हुने गरेको छ । यहाँको अल्लो व्यवसायलाई ध्यानमा राखेर यसै वर्ष रोल्पामा अल्लो उद्योग स्थापना गरिनेछ ।
१३. यस जिल्लामा कृषि क्षेत्रको विकासका लागि जिल्लाको सबै क्षेत्रको हावापानीको अवस्था र माटो परीक्षण गरी कुन क्षेत्रमा के कुराको तुलनात्मक लाभ र सम्भावना हो ? सो कुरा पहिचान गरिने तततत् क्षेत्रलाई पकेट क्षेत्रको रुपमा सिफारिस गरी आगामी ४५ दिनभित्र पठाउन म जिल्ला कृषि विकास कार्यालयका प्रमुखलाई यसै मञ्चबाट निर्देशित गर्दछु । सोही आधारमा कृषि क्षेत्रका लागि विशेष बजेटको व्यवस्था गरिने जानकारी गराउँछु ।
१४. जडीबुटीको अपार सम्भावना भएको यस जिल्लामा जडीबुटीको व्यवसायिक खेती प्रारम्भ गरिनेछ, साथै जडीबुटी संकलन तथा प्रशोधन केन्द्र निर्माण गरिने छ । जिल्लाको सुलीचौर र घर्तिगाउँमा कोल्ड स्टोर निर्माण गरिने छ ।
१५. रोल्पा जिल्ला पशुपालनका लागि समेत महत्वपूर्ण जिल्ला हो । मैले हाल पशुपन्छी विकास मन्त्रालयको समेत जिम्मेवारी लिएको छु । जिल्लामा पशुपालनको विकासका लागि छिट्टै विशेष कार्यक्रम ल्याइने जानकारी गराउँछु ।
१६. जिल्लामा रहेको जलजला बहुमुखी क्याम्पसलाई आंगिक बनाईने प्रक्रिया सुरुवात भइसकेको व्यहोरा यहाँहरुलाई जानकारी गराउँछु ।
१७. वर्तमान सरकारका माननीय उपप्रधान तथा अर्थमन्त्रीले प्रदान गर्नुभएको जग्गामा प्राविधिक शिक्षालय निर्माण कार्य अगाडि बढिरहेको छ । यसको बाँकी संरचनाहरु छिटोभन्दा छिटो निर्माण सम्पन्न गरी केही समयपछि अध्ययन अध्यापनको काम सुरु गरिनेछ ।
१८. यस क्षेत्रका जनसमुदायको माग अनुसार माडीचौरमा कृषि क्याम्पस स्थापनाको कामलाई अगाडि बढाइने छ ।
१९. जिल्लामा खेलकूदको विकासका लागि दुईवटा निर्वाचन क्षेत्रमा एक÷एक वटा खेल मैदान निर्माण गरिने छ । माडीचौरमा रहेको खेलकूद मैदानलाई रंगशाला बनाइनेछ । देशभरिमै सबैभन्दा बढी बलिदानी भएको गाउँ जेलवाङ, जनयुद्धको केन्द्र थवाङलगायतमा विशेष कार्यक्रम बनाई लागू गरिनेछ ।
२०. रोल्पाको सडक, विद्युत र खानेपानी लगायतको क्षेत्रमा करोडौं रकम निकासा भइसकेको छ । सरकारी निकाय, जनप्रतिनिधि, राजनीतिक दलहरुलाई मेरो आग्रह मात्रै होइन निर्देशन नै छ, रोल्पाको विकासको लागि आएको रकम फ्रिज नहोस् ।

कात्तिक ८, २०८१ बिहीबार १६:४:३९