संयुक्त चुनावी सभालाई प्रधानमन्त्री प्रचण्ड र पूर्व प्रधानमन्त्री देउवाको सम्बोधन

बैशाख २७, भरतपुर, चितवन । नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसद्वारा आज दिउसो चितवनको भरतपुरमा आयोजित संयुक्त चुनावी सभालाई प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सम्बोधन गर्नु भएको छ । सम्बोधनका क्रममा दु्वै नेताले १२ बुँदे समझदारीवाट सुरु भएको नेपाली कांग्रेस र माओवादीको सहयात्रा दीर्घकालसम्म अघि बढ्ने उद्घोष गर्नुभयो ।
प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेस र माओवादीबीच राजनीतिक सहयात्राको नयाँ अध्याय सुरु भएको वताउँदै लोकतान्त्रिक गणतन्त्र, संघीयता, समावेशिता, धर्म निरपेक्षतासहितका उपलब्धीहरु संस्थागत गरिएको नयाँ संविधानको सफल कार्यान्वयनका लागि दुवै पार्टीबीच सहकार्य र कार्यगत एकता आजको आवश्यकता रहेको वताउनु भयो । उहाँले कांग्रेस नेता गिरिजाप्रसाद कोइरालाको स्मरण गर्दै नेपाली कांग्रेसले गिरिजाप्रसाद कोइराला र माओवादी आन्दोलनले प्रचण्ड जस्ता नेता नजन्माएको भए परिवर्तन संभव नहुने वताउनु भयो । प्रधानमन्त्रीले राष्ट्र र जनताको विकासको आकांक्षा सम्बोधन गर्न परिवर्तनकारी शक्ति मिल्नुको विकल्प नभएको बताउँदै चितवनको भरतपुर महानगरपालिकालाई विश्वकै नमूना बनाउन माओवादी र कांग्रेसका उम्मेदवारहरुलाई अत्याधिक मतले जिताउन आग्रह गर्नु भयो ।
प्रधानमन्त्रीले नेपाली कांग्रेस र माओवादी गठबन्धनवाट आफू प्रधानमन्त्री बनेपछि असन्तुष्ट पक्षलाई सहमतिमा ल्याई चुनाव हुने अवस्था सिर्जना गरिएको, लोडसेडिङ अन्त्य गरिएको, आर्थिक बृद्धिदर २४ वर्षमै सबैभन्दा बढी ७ प्रतिशत हासिल भएको, ठूला विकास आयोजना द्रुत गतिमा अघि बढेको, फाष्ट ट्याक, रेलमार्ग र हुलाकी राजमार्ग निर्माण सुरु भएको बताउनु भयो । उहाँले नेपालमा पहिलो पटक जनताले आफ्नै गाउँमा सत्ता चलाउने गरी हुन लागेको निर्वाचनलाई पूर्णरुपमा सफल पार्न आम जनतालाई आब्हान गर्नु भयो ।
संयुक्त सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले माओवादी र नेपाली कांग्रेसबीच प्रदेश र संघको चुनावसम्म सहकार्य जाने ठोकुवा गर्दै भरतपुर महानगरका मेयर रेणु दाहाल र उपमेयर पार्वती शाहीलाई अत्याधिक मतले जिताउन आग्रह गर्नुभयो ।
उक्त सभामा माओवादी नेता अमिक शेरचन, काग्रेस महामन्त्री शशांक कोइराला, मन्त्री बालकृष्ण खाड, मेयर उम्मेदवार रेणु दाहाल र उपमेयर उम्मेदवार पार्वती शाहीले पनि सम्बोधन गर्नु भएको थियो ।

कात्तिक ८, २०८१ शुक्रबार ०:१३:२४