संविधान संशोधन प्रस्ताव पारित हुन्छ : प्रधानमन्त्री

पुस ३, विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैधानिक सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्ताव संसदबाटै पारित हुने बताउनु भएको छ ।
आइतबार बिहान विराटनगर विमानस्थलमा प्रेस सेन्टर मोरङद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्रीले सो कुरा बताउनुभएको हो । उहाँले संसदमा दर्ता भएको प्रस्तावलाई पारित गर्ने या परास्त गर्ने भन्ने विषय संसदको कुरा भएको भन्दै कोही कसैले गैर संसदीय र गैर लोकतान्त्रिक चरित्र प्रदर्शन गरेर संसद अवरुद्ध पार्नु नहुने स्पष्ट पार्नुभयो ।
एमालेले जति छिटो अवरुद्ध संसद खुलाउँछ त्यति चाँडै वर्तमान गतिरोधको अन्त्य हुने बताउँदै प्रधानमन्त्रीले राजनीतिक प्रक्रियामा लोकतान्त्रिक विधिको अभ्यास गर्ने थलो संसद नै भएको कुरामा जोड दिनु भयो । संविधान संशोधन प्रस्ताव, लोकमानसिंह कार्की विरुद्ध लागेको महाअभियोग प्रस्ताव तथा निर्वाचनको मिति तय गर्न सरकारले प्रमुख प्रतिपक्षसँग समेत सहमति गर्न चाहेको उहाँले प्रष्ट पार्नु भयो ।
स्थानीय तहको निर्वाचन नभई केन्द्रीय संसदको निर्वाचन नहुने बताउँदै प्रधानमन्त्रीले केन्द्रीय संसदको चुनाव गराउँ भन्दै संविधानमै नभएको विषय ल्याएर एमालेले वितण्डा मच्चाउन खोजेको छ भन्नुभयो । पहिले संसदको केन्द्रीय निर्वाचन गर्नुपर्छ भन्ने विषयमा गम्भिर षड्यन्त्र लुकेको भन्दै उहाँले यदि त्यस्तो गर्नुपर्छ भनेर जोड गर्नु भनेको संविधानलाई असफल बनाउने खेल हुने दाबी गर्नुभयो ।
प्रधानमन्त्री माओवादी केन्द्रको १ नं. प्रदेशको बैठकमा सहभागी हुन आज विराटनगर आउनु भएको हो । उहाँ आज साझ राजधानी फर्कनु हुनेछ ।

कात्तिक ७, २०८१ बुधबार २१:१२:५१