संविधानमा मधेश, जनजाति, लगायत थुप्रै विषयमा हाम्रो फरक मत छः अध्यक्ष प्रचण्ड

वीरगंज, १२ चैत । अध्यक्ष प्रचण्डले संविधानमा मधेश, जनजाति, महिला, लगायत थुप्रै विषयमा  एमाओवादी पार्टीले राखेको बताउनु भएको फरक मत छ । दोस्रो वीरगंज महोत्सव व्यापार मेलाको सिलसिलामा वीरगंजमा आयोजित क्रान्तिकारी पत्रकार संघद्वारा आयोजित पत्रकार सम्मेलनमा अध्यक्षले भन्नुभयो, ‘म वीरगञ्ज आउने खबरले विरोध हुन्छ रे भन्ने सुने । संविधान संशोधन गरेर मधेसी जनताको माग सकारात्मक सम्वोधन गर्ने प्रयास गर्ने व्यक्तिको विरोध गर्नुको अर्थ के हो बुझ्न सकेको छैन ।’ उहाँले आफ्नो विरोध गर्ने चाहानेहरुलाई आफूले खेलेको भूमिका बारे बुझाई दिन पत्रकारहरुलाई आग्रह पनि गर्नुभयो ।

‘वर्तमान समयमा शान्तिपूर्ण तरिकाले वार्ता संवादद्वारा हल गरी विकास निर्माण तिर अगाडि बढ्ने हो, यसको निम्ति राष्ट्रिय एकता निर्माण गर्नुपर्छ’ अध्यक्षले भन्नुभयो, भूकम्प, संविधान निर्माणको क्रममा एमालेको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति भएको थियो । मधेसी मोर्चाको तर्फबाट ११ बुँदे मागहरुको बिषयमा छलफल गरेर समझदारीबाट प्रक्रियामा गएर टुंग्याउन सकिन्छ । उहाँले अगाडि भन्नुभयो, ‘३० दलीय मोर्चा हुँदा ९ बुँदे सहमतिमा हामी अझै अडिग नै छौं । तर हामीले सबै कुरा नभए हुँदैन भनेका भए संविधान बन्ने थिएन । संविधान सभाको बनावट अनुसार नै सम्झौता भएको हो । यदि संविधान नबनेको भए मधेश लगायत सबैले नै अधिकार पाउने थिएनौं । जति पाइन्छ लिन र अझ प्राप्त गर्नको निम्ति अगाडि बढ्नु नै बुद्धिमानी हुन्छ । यदि संविधान निर्माण गरी घोषणा नगरेको भए देश  प्रतिगमनमा जाने थियो । त्यसैले संविधान निर्माण गरेर राष्ट्र बचाएका छौं । यसमा नेतृत्व गरेका हिसावले म आफूलाई गर्व ठान्दछु ।’ अध्यक्षले जनताको विकास निर्माण प्रगतिको अपेक्षा गरेको बताउनुभयो ।

चैत १०, २०८२ मंगलबार २१:२९:३