संविधानलाई जनताको जीवनसँग जोड्न आवश्यकः अध्यक्ष प्रचण्ड

काठमाडौं, २३ बैशाख । अध्यक्ष प्रचण्डले संविधान बन्नु मात्रै समस्याको समाधान नभएको उल्लेख गर्दै यसलाई जनताको जीवनसँग पनि जोड्नु पर्ने बताउनु भएको छ । जनताको जीवनसँग नजोडे संविधान कागजको खोष्टो हुने खतरा भएको उहाँको भनाई थियो । उहाँले भन्नुभयो, ‘हामी समान्य अवश्थामा छैनौं, यस्तो बेला असाधारण खालको राष्ट्रिय एकता पैदा गर्नु जरुरी छ ।’

कार्ल मार्क्सको १९८ औं जन्म दिवसका अवसरमा आयोजित नेपाली कम्युनिष्ट आन्दोलन: अबको बाटो विषयक विचार गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय सहमतिको सरकार बनाउन सबै दलहरु तयार हो भने राम्रो कुरा भएको भन्दै नेपाली काँग्रेसको प्रस्तावलाई आफूले धन्यवाद दिएको अध्यक्षले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘तर अरु पनि दलहरु राष्ट्रिय सहमतिको सरकार बनाउन तयार हो त भन्दा तत्काल प्रमुख दलहरु राष्ट्रिय सहमतिको सरकारमा नआउने नदेखिए पछि यो प्रक्रियामा व्यवधान ल्याउने हाम्रो कुनै उद्देश्य थिएन ।’ उहाँले राष्ट्रिय सहमतिको लागि प्रयत्न जारी राख्न नेपाली काँग्रेस, सरकारमा भएका पार्टीहरु र सरकारमा नभएका मधेसी मोर्चा लगायत सबै पार्टीहरुसँग आफूहरुको जोड रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले हामी संविधान कार्यान्वयनको चुनौति, परिमार्जनको चुनौति,  पुनर्निर्माणको चुनौति, जनताको आर्थिक संवृद्धिलाई सम्बोधन गर्ने चुनौतिको लागि राष्ट्रिय एकताको खाँचो छ ।’ उहाँले वामपन्थी मात्र होइन, देशका प्रमुख राजनीतिक शक्तिहरु एक ठाउँमा उभिएर मात्र संविधान बनाउन सम्भव भएको पनि बताउनु भयो ।

कात्तिक ७, २०८१ बुधबार ११:७:३८