संशोधन प्रस्ताव भोटिङमा गएर पारित हुन्छ, ‘प्रधानमन्त्री’

माघ २९, सोनरनिया, रौतहट । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले व्यवस्थापिका—संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव भोटिङमा लगेर पारित गरिने बताउनु भएको छ । सांसद प्रभू शाहको नेतृत्वमा सञ्चालित सडक बचाउ अभियानद्धारा शनिबार दिउँसो आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उक्त कुरा बताउनु भएको हो ।
कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले भन्नुभयो, ‘हिमाल, पहाड र मधेशलाई जोडेर निर्वाचनमा जाने मेरो संकल्प छ । पहिचान र अधिकारका निम्ति, विगतमा गरिएको उत्पीडनको अन्त्यका लागि मेरो नेतृत्वमा १० वर्षे जनयुद्ध भयो । जनयुद्धकै बलमा संघीय लोकतान्त्रिक संविधान बनेको छ । जनताको माग अझै पुरा भइसकेको छैन । संविधानको स्वीकार्यता बढाउन संविधान संशोधन प्रस्ताव दर्ता गरिएको छ । संशोधन प्रस्तावलाई मतदानमा लगेर पारित गराउन सरकार गम्भीर रुपले लागेको छ ।’
विकास र समृद्धि राष्ट्रको प्राथमिक एजेण्डा भएको बताउँदै प्रधानमन्त्रीले भन्नुभयो, ‘अहिलेको युग विकासको युग हो । दुनियाँले विकासको अपेक्षा गरेको छ । नेपाली जनताले पनि विकासको अपेक्षा गरेका छन् । मेरो नेतृत्वको सरकारले विकास र समृद्धिमा लगातार जोड दिँदै आएको छ । राष्ट्रिय गौरवका आयोजनाहरु समयमै सम्पन्न गर्ने र रोजगारीको अवसर सिर्जना गर्न म लगातार देश दौडाहामा छु । देशका ठूला आयोजनाहरु सम्पन्न गर्न लगातार कोशिस गरिरहेको छु ।’
कार्यक्रममा रौतहट क्षेत्र नं.—३ बाट निर्वाचित सांसद एवं पूर्वमन्त्री प्रभू शाहले सबैको सामूहिक प्रयत्नले मात्रै व्यापार, कृषि र उद्योगको विकास गर्न सकिने बताउनु भयो । शाहले सडकको संरक्षण र बिस्तारका लागि सडकक बचाउ अभियानको थालनी गरिएको बताउनु भयो । कार्यक्रममा माओवादी केन्द्रका नेता एवं पूर्वमन्त्री मातृका यादवले संविधान संशोधनपछि गरिने निर्वाचनले मात्रै राष्ट्रिय समस्याको सम्बोधन गर्नसक्ने बताउनुभयो ।
कार्यक्रममा प्रधानमन्त्रीले रौतहटका सोनरनिया र कटरिया गाबिसका विद्यालयमा अध्ययनरत १५०० जना छात्रालाई आधुनिक स्तरका साइकल बितरण गर्नुभएको थियो । मधेशी छात्रा विद्यार्थीहरुलाई विद्यालय आवात जावातमा प्रोत्साहन गर्ने उद्देश्यले सांसद प्रभू शाहको पहलमा साइकल बितरण गरिएको हो । कार्यक्रममा ३१ जना व्यक्तिहरु विभिन्न पार्टी परित्याग गरी नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका थिए ।

प्रधानमन्त्री प्रचण्डले सम्बोधनका क्रममा व्यक्त गर्नुभएको मन्तव्यको अंश ः
— अहिलेको युग विकासको युग हो । विकास गतिमा हुन्छ । जति गति बढ्छ, विकास पनि त्यति नै अघि बढ्छ । जुन देशहरु गतिमा छन्, तिनीहरु नै सबैभन्दा विकसित छन् । जहाँ भौतिक पूर्वाधार बन्दैन, त्यहाँ विकास पनि पछि पर्छ ।
— रौतहटमा बाटो बचाउने र बाटो बनाउने अभियान २ वर्षदेखि चलिरहेको छ । यसका लागि सांसद प्रभू शाह र तपाई जनसमुदायलाई धन्यवाद दिन चाहन्छु । बाटो बचाउने अभियानमा आफू पनि सरिक हुन पाएकोमा गौरवान्वित छु ।
— उत्कृष्ट छात्रा विद्यार्थीहरुको अध्ययनका लागि सहयोग गर्ने उद्देश्यले छात्राहरुलाई साइकल बाँड्न पाएँ । यो पनि मेरा लागि खुसीको कुरा हो । सोनरनियामा रहेको विद्यालयमा विज्ञान विषयको अध्ययन र अनुसन्धानका लागि रु. १० लाख दिने निर्णय भएको छ । यसलाई म यहीँबाट कार्यान्वयनमा आएको जानकारी गराउन चाहन्छु ।
— हिमाल, पहाड र मधेशलाई जोडेर निर्वाचनमा जाने मेरो संकल्प छ । पहिचान र अधिकारका निम्ति, विगतमा गरिएको उत्पीडनको अन्त्यका लागि मेरो नेतृत्वमा १० वर्षे जनयुद्ध भयो । जनयुद्धकै बलमा संघीय लोकतान्त्रिक संविधान बनेको छ । जनताको माग अझै पुरा भइसकेको छैन । संविधानको स्वीकार्यता बढाउन संविधान संशोधन प्रस्ताव दर्ता गरिएको छ । संशोधन प्रस्तावलाई मतदानमा लगेर पारित गराउन सरकार गम्भीर रुपले लागेको छ ।
— अहिलेको युग विकासको युग हो । दुनियाँले विकासको अपेक्षा गरेको छ । नेपाली जनताले पनि विकासको अपेक्षा गरेका छन् । मेरो नेतृत्वको सरकारले विकास र समृद्धिमा लगातार जोड दिँदै आएको छ । राष्ट्रिय गौरवका आयोजनाहरु समयमै सम्पन्न गर्ने र रोजगारीको अवसर सिर्जना गर्न म लगातार देश दौडाहामा छु । देशका ठूला आयोजनाहरु सम्पन्न गर्न लगातार कोशिस गरिरहेको छु ।
— म राजनीतिक स्थिरता र आर्थिक समृद्धिको अभियानमा छु । मलाई विश्वास छ, मधेशी जनसमुदायले मेरो अभियानमा साथ दिनुहुनेछ । म भारतको गोवा भ्रमणमा जाने बेला नै हुलाकी राजमार्ग निर्माणबारे गम्भीर कुरा गरेको थिएँ । अहिले कैयौं वर्षदेखि रोकिएको काम प्रारम्भ भएको छ । सरकारले हुलाकी राजमार्गलाई चार लेनको बनाएर मधेशको कृषि लगायतका क्षेत्रमा गुणात्मक प्रगति गर्न चाहन्छ ।
— केरुङबाट काठमाडौं हुँदै लुम्बिनी पुग्ने रेल्वे लाइनको निर्माणमा पनि सरकार गम्भीर छ । उत्तर—दक्षिण रेल मार्गको निर्माणका लागि सरकारले दुवै छिमेकीसँग पहल गरिरहेको छ । हामीले मिलेर नै देशको विकास गर्नुपर्छ । यसमा सबैको साथ रहने विश्वास लिएको छु ।
— मधेशका कच्ची बाटोहरुको स्तरोन्नति र बिस्तार गर्ने काममा सरकार गम्भीर छ । तपाईहरुको समस्यालाई दृष्टिगत गरी सरकारले सडक बिस्तार र स्तरोन्नतिलाई गम्भीर रुपमा लिनेछ । कृषक कर्जा ५० प्रतिशतमा बृद्धि गर्न सरकार गम्भीर रुपमा लाग्नेछ । ग्रामिण स्तरमा विद्यालय र उच्च विद्यालय निर्माणको कामलाई प्राथमिकतामा राखिने छ । मधेशका विद्यार्थीलाई शिक्षामा आकर्षण गर्न शिक्षा क्षेत्रमा नयाँ कार्यक्रम सञ्चालन गरिनेछ ।

कात्तिक ७, २०८१ बुधबार ७:१८:३८