‘सत्य, न्याय, राष्ट्रको पक्षमा दृढतापूर्वक उभिनेलाई जनताले साथ दिन्छन्’ (भिडियो)

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्य, न्याय, राष्ट्रको पक्षमा दृढतापूर्वक उभिनेलाई जनताले साथ दिने बताउनुभएको छ । अखिल नेपाल शिक्षक संगठनको शैक्षिक अभियान तथा दोस्रो र तेस्रो संयुक्त प्रदेश परिषद् उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले संघीय लोकतान्त्रिक गणतन्त्र आफूहरुको कारणले आएको स्पष्ट पार्नुभयो। अध्यक्षले ठूलो संघर्ष र बलिदानपछि बनिएको संविधान र कम्युनिष्ट आन्दोलनको व्यापक ध्रुवीकरण र एकतालाई जनताले गरेको अनुमोदनबाट राजनीतिक स्थिरता प्राप्त हुनेछ भन्ने विश्वास लिएको पनि बताउनुभयो ।

आफूहरु यतिवेला सरकार गठन, पूनर्गठनको प्रक्रियामा रहेको उल्लेख उहाँको भनाई थियो । उहाँले भने,‘साथीहरु, हिजोमात्रै कर्णालीमा के समस्या थियो, कहाँ गएर टुँगियो ? तपाईँहरुले थाहा पाईसक्नुभएको छ । अब अस्तिमात्रै गण्डकी प्रदेशमा अविश्वासको प्रस्ताव दर्ता भएको छ । र, बहुमतले सरकार परिवर्तनको लागि नयाँ मुख्यमन्त्रीको नामसहित अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

विशेष अधिवेशनको माग गरिएको छ । लुम्बिनीमा पनि सरकार परिवर्तनको लागि करिब करिब बहुमतको हस्ताक्षर संकलन भईसकेको छ । अब केन्द्रमा यो अन्यौलता र अराजकताको स्थिति अन्त्य गर्नको लागि हामीले केन्द्रीयस्तरमा पनि लगातार पहल गरेका छौं । र, म यहाँबाट त्यही प्रक्रियामा सामेल हुन मिटिङमा जाँदैपनि छु ।’

अध्यक्ष प्रचण्डले पार्टी छाडेर जानेहरुलाई फकाउन मन लाग्न छाडेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘कतिपय मानिसहरु उता गए, फकाउनपर्यो भन्छन् । मलाई अचेल फकाउन मन लाग्न छोड्या छ । जाने जाउन जस्तो लाग्छ ।’ क्रान्तिकारी इतिहास, मान प्रतिष्ठा बनाएका नेताहरुले पार्टी छाडेर केपी ओलीको प्रतिगमनकारी भूमिकाको सहयात्री बन्नेहरुलाई सम्झाउनु मूर्खता हुने उहाँको भनाइ छ ।

अध्यक्षले भन्नुभयो, ‘यत्रो इतिहास बनाएको, यत्रो बिरासत भएको, क्रान्तिकारी इज्जत, प्रतिष्ठा भएका मान्छे केपी ओलीको प्रतिगमनको पछाडि लाग्छन् भने तिनलाई सम्झाउनु भनेको मूर्खता हो जस्तो लाग्छ । ती जाउन । जबसम्म हामी सत्य, न्याय, राष्ट्रको पक्षमा दृढतापूर्वक उभिन्छौं, जनताका छोराछोरी लामवद्ध हुन आइपुग्छन् ।’

जनयुद्धको सुरुवात ६५ जनाबाट भएको स्मरण गर्दै उनले १० वर्षको अवधिमा देशमा राजनीतिक परिवर्तन भएको बताउनुभयो। ‘जनयुद्ध सुरुवात ६५ जनाबाट भएको थियो । के भयो नेपाल रु के भयो राजनीति, के भयो परिवर्तन रु’ उनले अहिले विगत जस्तो नभएको भन्दै भने, ‘अहिले त देशभर लाखौं कार्यकर्ताको पंक्ति छ । तिनलाई एकचोटी जगाउने र फेरि जनतातिर फर्काउने आवश्यकता छ ।’

माओवादीप्रति भ्रम फैलाउने काम भइरहेको भन्नुहुँदै उहाँले कोही भ्रममा पर्न आवश्यक नरहेको पनि बताउनुभयो । माओवादीप्रति जनतामा विश्वास नटुटेको उहाँको भनाई थियो । अध्यक्षले भन्नुभयो, ‘जाली फटाहाहरुले माओवादी सिद्दियो, प्रचण्ड सिद्धियो भनेर भ्रम छर्ने काम गरेको छ । दिग्भ्रमित पार्ने काम भएको छ । जनतामा त्यस्तो छैन ।’

आफूले देशका विभिन्न स्थानमा जनताको अपार माया पाएको भन्दै उहाँले भन्नुभयो, ‘हाम्रो मुद्दाप्रति जनताको विश्वास र भरोसा टुटेको हो त रु तल जाँदा जनतामा त्यस्तो पाइनँ । किन हाम्रो नेतृत्व हामीकहाँ आउँदैन ? भनेर गुनासो रहेछ ।’

कात्तिक ६, २०८१ बुधबार ५:१४:५४