सबैभन्दा महत्वपूर्ण कुरा विचारको रक्षा, प्रयोग र विकास : अध्यक्ष प्रचण्ड

काठमाडौं, १३ फागुन । अध्यक्ष प्रचण्डले सबैभन्दा महत्वपूर्ण कुरा विचारको रक्षा प्रयोग र विकास भएको बताउनु भएको छ । बुधवार पार्टी केन्द्रीय कार्यालयमा आयोजित नेपाल बुद्धिजीवि संगठन ३ नं. प्रदेशको भेला तथा प्रशिक्षण कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो । अध्यक्षले भन्नुभयो, ‘आन्दोलनबाट पैदा भएको विचार र त्यसको नेतृत्वको रक्षा पनि त्यतिकै महत्वपूर्ण कुरा हो ।’ अध्यक्षले सामाजिक परिवर्तनमा बौद्धिक तप्काले जनतामा ज्ञान र विवेकको प्रवाह गरेकाले परिवर्तन सम्भव भएको पनि बताउनु भयो ।

‘वुद्धिजीविलाई आत्मा केन्द्रित र व्यक्तिवादी र अराजकतावादी भनेर जबर्जस्त आरोप लाग्ने गरेको छ । श्रमिकहरु स्वभावैले बढि लाल हुन्छन् र बुद्धिजीविहरु अलिबढि निपुर्ण हुन्छन्,’ उहाँले भन्नुभयो, ‘त्यसैले श्रमिक निपूर्ण बन्न सिक्ने र बुद्धिजीवीहरु लाल बन्न सिक्ने गर्नुपर्दछ । यही द्वन्द्वत्मक सम्बन्धले नै एक अर्कामा पूर्णता हासिल गर्न मद्दत मिल्छ ।’ जनयुद्धको बेला फौजी कला महत्वपूर्ण भएको बताउँदै अहिले आफूहरु युद्धको अर्को रुप राजनैतिक युद्धमा रहेको अध्यक्ष प्रचण्डले स्पष्ट पार्नुभयो । ‘युद्ध रक्तपातपूर्ण राजनीति र राजनीति रक्तपातहिन युद्ध हो । ‘हिजोको मोर्चामा बन्दुक अगाडि थियो, आजको मोर्चामा कलम अगाडि छ, लडाईंको यो मोर्चामा बुद्धिजीवि मोर्चाको भूमिका महत्वपूर्ण हुन्छ,’ अध्यक्षले भन्नुभयो ।

एक अर्को प्रसंगमा अध्यक्ष प्रचण्डले मानिसहरु आस्था आदर्शकै निम्ति बाँच्छन् र आस्था आदर्शकै निम्ति मर्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘आफ्नै आस्था छोडेर हिड्नु भनेको आफ्नो निष्ठा पनि छोड्नु हो । काउत्स्कीले सर्वहारा आन्दोलन अप्ठ्ेरोमा परेको बेला गद्दारी गरेका थिए । ठीक त्यस्तै नेपाली माओवादी आन्दोलनमा नाङ्गो रुपबाट बाबुरामजीले गर्नुभयो ।’

राजनीतिक रुपमा हाम्रो पार्टी १ नम्बर पार्टीको रुपमा स्थापित छ तर यसलाई संगठनात्मक रुपमा पनि १ नम्बरकै पार्टी बनाउनु पर्ने अध्यक्ष प्रचण्डको धारणा थियो । उहाँले यसको निम्ति संगठन निर्माण र विस्तारको विकल्प नभएको बताउनु भयो । अध्यक्षले भन्नुभयो, ‘हामी सबैले सक्रियता बढायौं भने यो सम्भव छ । माओवादी आन्दोलनमा आएको विभाजनले मनोवैज्ञानिक रुपमा जनतामा निराशा बनायो । अब सबै माओवादी धाराहरुलाई एकताबद्ध गर्नुपर्दछ ।’

त्यसैगरी अध्यक्ष प्रचण्डले मुस्लिम राष्ट्रिय मुक्ति मोर्चा, नेपालको केन्द्रीय समितिको बैठकलाई बुधवार सम्बोधन गर्दै संविधानमा प्राप्त उपलब्धीको रक्षाको निम्ति जनतामा झांगी नै पर्ने बताउनु भयो । अध्यक्षले व्यापक रुपमा संगठनको विस्तार गरी जनतालाई संगठीत गराउनु पर्ने बताउनु भयो ।  उहाँले भन्नुभयो, ‘माओवादी कुनै जात धर्म, लिंग, क्षेत्र होइन बरु यो कम्युनिष्ट हो, जसले समाजमा सबैभन्दा उत्पीडनमा परेका वर्ग, क्षेत्र, लिंग, जाति(राष्ट्र)को मुक्तिको लागि लड्ने लडाईको नेतृत्व गर्ने गर्छ ।’ मधेसमा माओवादीको नेतृत्व, झण्डा र एजेण्डामा गोलबन्द भएर मात्र मुक्ति सम्भव भएको उहाँको भनाई थियो ।

कात्तिक ७, २०८१ बुधबार ७:७:०