समाजवादको बहसलाई वाद, विवाद र संवादको प्रक्रियाबाट अघि बढाऔंः अध्यक्ष प्रचण्ड (भिडियो)

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विचारका बारेको बहस कसैलाई निषेध गर्ने उद्देश्यबाट नभई बिचार विमर्शद्वारा एउटा नयाँ संश्लेषणमा पुग्नुपर्ने बताउनुभएकाे छ । बहसलाई वाद, विवाद र संवादको प्रक्रियाको रुपमा प्रयोग गरी सकारात्मक र रचानात्मक दिशा दिनुपर्ने उहाँको धारणा थियो ।

बुधवार राजधानीमा वामदेव क्षेत्रीद्वारा लिखित पुस्तकको विमोचन पश्चात आयोजित एक अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “बिचारको विकास आवश्यक भन्ने मान्दामान्दै पनि कम्युनिस्ट पार्टीबाट नहुने भन्दै समाजवादको शिक्षा लिने सन्दर्भमा आधारभूत कुराबाट नै भड्किने कुराले क्रान्तिलाई मद्दत गर्दैन ।”

“माक्र्सवादी विज्ञानका आधारभूत कुराहरु द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादका सार्वभौम सिद्धान्तहरु प्रति नै शंका पैदा हुने गरी प्रस्तुत हुन थाल्यौं भने र अहिलेको विज्ञान तथा प्रविधिमा भएको विकास र यसको व्याख्या गर्दा हाम्रो सार्वभौम सिद्धान्तको महत्ता र गरिमालाई कमजोर पार्न थाल्यौं भने हामी आफैं हराउने त होइनौं ?” उहाँको प्रश्न थियो ।

माक्र्सवादको विकास र परिमार्जन हुनुपर्दछ भन्ने नै आफूले ठानेको बताउनुहुँदै अध्यक्षले भन्नुभयो, “तर त्यसो गर्दा कम्युनिष्ट पार्टीप्रति मार्क्सवाद, लेनिनवाद र माओवादप्रति या द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादप्रति आशंका पैदा हुन नजाओस् भन्ने प्रति सबैभन्दा बढी सजग हुनु पर्दछ ।”

अध्यक्ष प्रचण्डले माक्र्सवादको विकास विभिन्न गलत विचार प्रवृत्तिका विरुद्धको संघर्षको बीचबाट हुँदै आएको उल्लेख गर्नुहुँदै सोही कारण मार्क्सवादलाई संघर्षको दर्शन भनिएको बताउनुभयो । अध्यक्षले अध्यादेशका बारेमा बहस उठेकोमा धन्यवाद दिँदै ओलीले ल्याएको अध्यादेश र अहिलेको सरकारले ल्याएको अध्यादेश आकाश पातालको फरक रहेको बताउनुभयो ।

उहाँले एउटा अध्यादेशको उद्देश्य लोकतन्त्र, गणतन्त्र, संविधान, सिध्याउने र अर्कोको लोकतन्त्र, गणतन्त्र र संविधानको रक्षाका लागि भएको भन्दै दुबै अध्यादेश एउटै नभएको बताउनुभयो ।
अध्यक्षले माधवकुमार नेपालको दलले मान्यता पाएकै दिन मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउने बताउनुभयो ।

उहाँले बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, माधव नेपाल र प्रचण्डबीच भएको छलफलमा यस्तो समझदारी भएको अध्यक्षले जानकारी दिनुभयो । अध्यक्ष प्रचण्डले बुधवारबाट परिस्थिति नयाँ बनेको र अब केही दिनमै माधव नेपाल नेतृत्वको नयाँ दलको सनाखत प्रक्रिया हुने र लगत्तै सरकार विस्तारले पनि पूर्णता पाउने बताउनुभयो ।

कात्तिक ७, २०८१ बुधबार ९:१६:५