‘सम्झौता गरे पनि एमाओवादीले जनताका मुद्धा छोडेको छैन’

कोहलपुर(बाँके), २२ फागुन । अध्यक्ष प्रचण्डले आफूहरुले संविधान जारी गर्न सम्झौता गरे पनि जनताका मुद्धा नछोडेको बताउनु भएको छ । आज दिउँसो बाँकेको कोहलपुरमा थारु राष्ट्रिय मुक्ति मोर्चा, नेपालका नेता तथा कार्यकर्ताहरुलाई प्रशिक्षण दिँदै उहाँले यस्तो बताउनु भएको हो । अध्यक्षले भन्नुभयो, ‘हाम्रो पार्टीले संविधान सभामा आधिकारीक रुपले आफ्नो फरक मत सहितको संशोधन प्रस्ताव दर्ता गरेर मात्र वर्तमान संविधानमा समर्थन गरेको हो ।’

अध्यक्षले पार्टीले आफ्ना मतभेद, संशोधन राखेको र ति संशोधन र फरक मतको आधारमा अगाडि बढ्ने आधार रहेको बताउनुभयो । संविधानमा केही धाराहरु जस्तो राष्ट्रिय अखण्डता, सार्वभौमिकता, जनतामा निहित सार्वभौमसत्ता लगायत बाहेक अरु परिवर्तनीय रहेको उहाँको भनाई थियो ।

उहाँले भन्नुभयो, ‘ हामीले संझौता ग¥यौं, संझौता गर्नु ठीक थियो कि थिएन । ठीक थियो । यदि संविधान नबनेको भए देश अग्रगमन तिर होइन पश्चगमन तिर जाने थियो । ठूलो दुर्घटना हुने थियो ।’

उहाँले पार्टी नेतृत्वले जनयुद्धमा र शान्ति प्रक्रियामा जस्तै संविधान निर्माणमा पनि निकै ठूलो जोखिम लिएको बताउनु भयो । पहिलो संविधानसभाबाट संविधान बनाउन नसक्दा माओवादीलाई ठूलो नोक्सानी भएको अध्यक्ष प्रचण्डको भनाई थियो ।

‘कम्युनिष्ट सर्वहारा वर्गको नेतृत्वमा हुने राष्ट्रिय मुक्ति आन्दोलनले जनताको अधिकार प्राप्त हुन्छ, साम्राज्यवादी, सामन्तवादीहरुको नेतृत्वमा हुने जातीय–क्षेत्रीय आन्दोलन विखण्डन तिर जान्छ, ‘उहाँले भन्नुभयो, ‘दलालहरुको नेतृत्वमा जनताको मुक्ति कहिल्यै भएको छैन र हुनेपनि छैन ।’ कार्यक्रम हरिभक्त थारुको अध्यक्षतामा र भूवन चौधरीको सञ्चालनमा सम्पन्न भएको थियो । अध्यक्ष आज नै काठमाडौं प्रस्थान गर्नु भएको छ ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चा नेपालका पदमप्रसाद रेग्मीसहितका नेता तथा कार्यकर्ता एमाओवादीमा प्रवेश गरेका थिए । उहाँहरुलाई अध्यक्ष प्रचण्डले अबीर लगाई पार्टीमा स्वागत गर्नुभएको थियो ।

थारु राष्ट्रिय मुक्ति मोर्चा, नेपाल प्रशिक्षण कार्यत्रफम । बाँकेको कोहलपुर ०७२–११–२२

कात्तिक ८, २०८१ बिहीबार १०:६:२२