प्रधानमन्त्रीद्वारा मधेशी मोर्चाका नेताहरुसँग परामर्श

फाल्गुण ७, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचन र संविधान संशोधन लगायतका राजनीतिक विषयमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरुसँग परामर्श गर्नुभएको छ ।
शनिबार बिहान ११ बजेबाट प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा प्रधानमन्त्रीले संविधान संशोधन र स्थानीय तहको निर्वाचनबारे मधेशी मोर्चाका नेताहरुसँग राय माग्नुभएको थियो । बैठकमा प्रधानमन्त्रीले राजनीतिक गतिरोधको अन्त्यका लागि स्थानीय तहको निर्वाचन गर्नुको बिकल्प नभएकोमा जोड दिँदै संविधान संशोधन र स्थानीय तहको निर्वाचनलाई सँगसँगै अघि बढाउने सरकारको तयारीमा सहयोग गर्न मोर्चाका नेताहरुलाई आग्रह गर्नुभएको थियो ।
प्रधानमन्त्रीले छिट्टै स्थानीय तहको निर्वाचनको मिति घोषणा नगर्ने हो भने बैशाखको अन्त्य र जेठको सुरुमा निर्वाचन गर्न कठिन हुने बताउँदै फाल्गुण १० गतेबाट सुचारु हुने संसदमा संविधान संशोधन प्रस्ताव अघि बढाउने जानकारी दिँदै सरकारले गर्ने स्थानीय तहको मिति घोषणामा समर्थन गर्न आग्रह गर्नुभएको थियो । प्रधानमन्त्रीले निर्वाचनको बिकल्प नभएकाले राजनीतिक गतिरोध अन्त्यका लागि जिम्मेवार भएर सहयोगी भूमिका खेल्न मोर्चाका नेताहरुलाई आग्रह गर्नुभएको थियो ।
बैठकमा मधेशी मोर्चाका नेताहरुले यथास्थितिमा स्थानीय तहको निर्वाचनमा जान कठिन हुने बताउँदै संविधान संशोधन प्रस्तावको टुङ्गो नलागेसम्म निर्वाचनमा जान नसकिने धारणा राख्नुभएको थियो । मोर्चाका नेताहरुले संविधानको स्वामित्व ग्रहणपछि मात्रै निर्वाचनमा जान सकिने मोर्चाको धारणा रहेको प्रधानमन्त्रीलाई अवगत गराउनु भएको थियो ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका महामन्त्री डा. सशांक कोइराला, गृहमन्त्री बिमलेन्द्र निधि, मधेशी मोर्चाका नेताहरु उपेन्द्र यादव, महन्त ठाकुर, राजेन्द्र महतो, अशोक राई लगायतका नेताहरु हुनुहुन्थ्यो ।

कात्तिक ६, २०८१ बुधबार ३:२०:३८