नेपाल सरकार र संघीय गठबन्धनको बैठक सम्पन्न

श्रावण २१, काठमाडौं । नेपाल सरकार र संघीय गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरुबीचको बैठक आज सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा सम्पन्न भएको छ ।
बिहान ११ बजे प्रधानमन्त्री कार्यालय सिंहदरवारमा सम्पन्न बैठकमा प्रधानमन्त्री निर्वाचनपूर्व नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र संघीय गठबन्धनबीच भएको तीन बुंदे सहमतिको कार्यान्वयनको विधि र प्रक्रिया लगायतका विषयमा छलफल भएको छ । छलफलमा संघीय गठबन्धनमा आवद्ध दलका नेताहरुले संविधान संशोधन, मधेश आन्दोलनको सम्बोधन लगायतका विषयमा आफ्नो धारणा राख्नुभएको थियो ।
बैठकमा माननीय गृहमन्त्री बिमलेन्द्र निधिले गठबन्धनका मागबारे गृह मन्त्रालयले आवश्यक प्रक्रिया पुरा गरेर सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । संघीय गठबन्धनका नेताहरुले राखेका माग र धारणाबारे सम्माननीय प्रधानमन्त्रीले सम्बोधन गर्नुभयो । प्रधानमन्त्रीले मधेश आन्दोलनका मृतकहरुलाई राहत, घाइतेहरुको क्षतिपूर्ति र भौतिक क्षतिको राहत सम्बन्धि मन्त्रीपरिषद्को बैठक बसेर आवश्यक निर्णय लिने बताउनुभयो । सो अवसरमा सम्माननीय प्रधानमन्त्रीले संविधान संशोधनका लागि सबैसँग परामर्श गरेर निष्कर्षमा पुग्न पनि संघीय गठबन्धनका नेताहरुलाई आग्रह गर्नुभयो । सरकार र गठबन्धनको बैठकपछि गठबन्धनले उठाएका मागबारे छलफल गर्न सिंहदरवारमा मन्त्री परिषद्को बैठक जारी छ ।

कात्तिक ७, २०८१ बुधबार १३:१६:१२