सरकारले ल्याएको विद्यालय भर्ना अभियानलाई सफल पार्न अध्यक्ष प्रचण्डको अपील

चितवन, ५ बैशाख । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले वर्तमान सरकारले ल्याएको विद्यालय भर्ना राष्ट्रिय अभियानलाई सफल बनाउन सबैमा अपील गर्नुभएको छ ।

बुधवार पश्चिम चितवनको मेघौलीस्थित साझापुर मा.वि.मा आयोजित अभिभावकत्व ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले वर्तमान शिक्षालाई आमूल परिवर्तन गरी स्वरोजगार र आत्मनिर्भर बनाउनु पर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘विद्यालय जान वञ्चित हजारौं बालबालिकाहरुलाई विद्यालय जाने वातावरण बनाउन शिक्षक, अभिभावकसहित सबैले भूमिका खेल्नुपर्छ ।’

संविधान बनाउने जटिलता चिरेर शिक्षालाई मौलिक हकको रुपमा राखिएको उल्लेख गर्दै अब कार्यान्वयनमा लैजानुपर्ने बताउनु भयो । उक्त कार्यक्रममा अध्यक्ष प्रचण्डले उत्पीडित बस्तीका दुई बालकलाई विद्यालय भर्ना गर्नुभएको थियो ।

मेघौलीका एक जना मुसहर र एकजना माझी समुदायका बालकहरुलाई उहाँले अभिभावकत्व ग्रहण गर्दै विद्यालय भर्ना गर्नुभएको हो । अध्यक्षले यसरी विद्यालय भर्ना गर्नुभएका बालकहरु पत्रुस मुसहर र अरुण माझी रहेका छन् ।

५ वर्षका पत्रुस मुसहर शिशु कक्षामा भर्ना भएका छन् भने ९ बर्षका अरुण माझी कक्षा १ मा भर्ना भएका छन् । कक्षा १ मा भर्ना भएका माझीले आफू धेरै पढेर ठूलो मान्छे बन्ने आफूलाई बताएको अध्यक्ष प्रचण्डले सम्बोधनका क्रममा बताउनुभयो ।

उहाँले बालकलाई विद्यालयमा नियमित आउने वातावरण बनाउन अभिभावक र शिक्षकहरुलाई आग्रह गर्नुभएको थियो । आफूले पनि विद्यालय भर्ना गरिएका बालकहरुको शैक्षिक अवस्थाको बारेमा बेलाबेला जानकारी लिइरहने विश्वास दिलाउनु भयो ।

कात्तिक ६, २०८१ बुधबार ४:११:५९