सिंहदरबारमै बसेर परिणाम निकाल्न चाहन्छु, ‘प्रधानमन्त्री’

भदौं ३, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले सिंहदरबारमै बसेर परिणाम निकाल्ने गरी काम गर्न चाहेको बताउनुभएको छ ।
शुक्रबार बिहान बधाई तथा शुभकामना दिन आएको सिन्धुलीको टोलीसँगको भेटमा प्रधानमन्त्रीले भन्नुभयो, ‘धेरै औपचारिक कार्यक्रममा जाने सोचेको छैन । सिंहदरबारमै बसेर सरकारका कामको निरीक्षण, अनुगमन गरी परिणाम निकाल्न चाहेको छु ।’ भेटमा प्रधानमन्त्रीले संविधान संशोधन गरेर निर्वाचनको प्रक्रियामा जाने वातावरण बनाउन आफू लागि परेको बताउनुभयो । प्रधानमन्त्रीले भन्नुभयो, ‘संविधान संशोधनको प्रस्ताव दर्ता गरेर स्थानीय तहको निर्वाचनतिर जाँदैछौं । यसले देशमा राजनीतिक स्थिरताको वातावरण निर्माण गर्नेछ ।’
प्रधानमन्त्रीले चीन र भारतसँग सन्तुलित कुटनीतिक सम्बन्धका लागि उच्चस्तरीय दुत पठाएको भन्दै आन्तरिक र बाह्य राष्ट्रियतालाई एकीकृत गर्नु आफ्नो दायित्व भएको बताउनुभयो । भेटमा सिन्धुलीको टोलीले भूकम्पपीडितका लागि राहत रकम थोरै भएको भन्दै राहत रकम वृद्धिका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थियो ।

कात्तिक ७, २०८१ बुधबार ७:२३:२१