गोरखा–काठमाडौं सम्पर्क मञ्चद्वारा ललितपुर खुमलटारमा आयोजित बधाई कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले भन्नुभयो, “राष्ट्रलाई एकता, समृद्धि र सुशासन तिर लैजाने उपयुक्त थलो गोरखा हो । त्यहाँको जनताको भरोसा र विश्वासको र बलमा मैले राष्ट्रिय एकता पनि कायम गर्नुपर्छ र राजनीतिमा देखा पर्न खोजेका आवेग, असन्तुष्टी र निराशालाई पनि सम्बोधन गर्ने ढंगले गोरखाली जनताको विश्वासको बलमा अगाडि बढ्नुपर्छ ।”
अध्यक्षले आफूलाई गोरखाली जनताले गरेको विश्वास र दिएको जिम्मेवारी पुरा गर्ने सङ्कल्प गरेको बताउनुभयो । उहाँले आउने ५ वर्षमा गोरखा जिल्लामा जनताले देख्ने, बुझ्ने महशुस गर्ने गरी विकासलाई गति दिने बताउनुभयो ।
अध्यक्षले भन्नुभयो, “गोरखाको भौतिक संरचनाको विकासको कुरा र त्यहाँको शिक्षा, स्वास्थ्य, रोजगारी र खाद्य सम्प्रभुता, पर्यटन विकास, कृषिको आधुनिकिकरण लगायतका यी सबैमा मेरो ध्यान छ । ठूला परियोजनालाई पूर्णतामा लैजान र नयाँ परियोजना शुरु गर्नुपर्ने पनि छ । यी सबै पुरा गर्न तपाईहरु सबैको साथ सहयोग मिल्नेमा म विश्वस्त पनि छु । ” अध्यक्ष प्रचण्डले गोरखाली जनसमूदायको सद्भाव गोरखा र केन्द्र दुबै स्थानमा काम गर्नका लागि आफूलाई थप उत्प्रेरणा प्रदान गरेको बताउनुभयो ।