स्थानीय तहको निर्वाचन हुनु नै माओवादीको जितः प्रधानमन्त्री

चैत्र २२, काठमाडौं । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले स्थानीय तहको निर्वाचन सफल पार्नु राष्ट्रको प्रमुख कार्यभार भएको बताउँदै स्थानीय निर्वाचन हुनु नै माओवादी केन्द्रको जित हुने बताउनु भएको छ ।
आज दिउसो पेरिसडाँडाँमा आदिवासी जनजाति राष्ट्रिय महासंघ, नेपाल ३ नं प्रदेश भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताउनु भएको हो । प्रधानमन्त्रीले माओवादीले जनयुद्धकालदेखि उठाउँदै आएका संघियता, गणतन्त्र, लोकतन्त्र, समावेशिता, समानुपातिक सहभागिता, धर्म निरपेक्षतासहितका एजेण्डाहरु नयाँ संविधानमार्फत् संस्थागत गरिएको बताउँदै संविधान कार्यान्वयनका लागि निर्वाचन सफल पार्नुपर्ने आवश्यकतामा जोड दिनु भयो । उहाँले संघियताको जग बसाल्न निर्वाचन जरुरी भएको बताउँदै परिवर्तनका उपलब्धी जोगाउन चाहने सबै स्थानीय निर्वाचनमा सहभागी बन्नुपर्नेमा जोड दिनु भयो । परिवर्तनका एजेण्डा खोस्न चाहनेहरुले मात्र निर्वाचन नचाहने भन्दै प्रधानमन्त्रीले सबै परिवर्तनकारीहरुलाई एकतावद्ध भएर निर्वाचनमा होमिन आग्रह गर्नु भयो ।
प्रधानमन्त्रीले अहिले जे जति उपलब्धी हासिल भएका छन्, ती सबै माओवादीकै एजेण्डा भएको र माओवादी नेतृत्वको संघर्षवाट प्राप्त भएको बताउँदै यी सकारात्मक उपलब्धी रक्षा र संस्थागत गर्ने दायित्व पनि माओवादीकै भएको प्रष्ट पार्नु भयो । उहाँले माओवादीहरुको एकतामा जोड दिँदै अहिले माओवादी पार्टी देशभक्त र जनपक्षीय शक्ति हो भन्ने कुरा राम्रैसँग पुष्टि हुन पुगेको बताउनु भयो ।
आफू नेतृत्वको सरकारले लोडसेडिङ हटाउने, ठूला आयोजनाहरु छिटो सम्पन्न गर्न पहल गर्ने, हुलाकी मार्ग र फाष्ट ट्याक निर्माण सुरु गर्ने, विदेशसँग सन्तुलित सम्बन्ध विकास गर्ने, २४ वर्षपछि सबैभन्दा बढी आर्थिक बृद्धिदर हासिल गर्ने लगायतका कैयौ उपलब्धी हासिल गरेको बताउँदै प्रधानमन्त्रीले माओवादी नै यो देश र जनताको भरोसायोग्य शक्ति हो भन्ने पुष्टि भइसकेको बताउनु भयो ।

कात्तिक १०, २०८१ आइतबार ४:१६:२५