स्वास्थ्य, अनुशासन र राष्ट्रको पहिचानका लागि खेलकुदः अध्यक्ष प्रचण्ड

काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य, अनुशासन र राष्ट्रको पहिचानका लागि खेलकुदको भूमिका महत्वपूर्ण रहेको बताउनु भएको छ । नेपाल भलिबल सङ्घले ललितपुरको लगनखेलमा आजदेखि सुरु गरेको महिला राष्ट्रिय भलिबल प्रतियोगिताको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताउनुभएको हो ।

अध्यक्षले भन्नुभयो, ‘नेपाली महिला खेलाडी अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा गर्न सक्षम रहेको छ भने खेलकुद क्षेत्रमा नेपाली महिलाको योगदानले देशको शीर उच्च भएको छ ।’ केही महिनाअघि विराटनगरमा भएको साफ महिला फुटबल प्रतियोगितामा नेपाली महिला टोलीको प्रदर्शनले त्यो कुरालाई प्रमाणित गरेको उहाँको भनाई थियो ।

उहाँले खेलकुद क्षेत्रमा राज्यले आवश्यक लगानी गर्नुपर्नेमा जोड पनि दिनुभयो । अध्यक्ष प्रचण्डले दोस्रो प्रधानमन्त्रीय कार्यकालमा भलिबललाई राष्ट्रिय खेल घोषणा गरेकाले यस पटकको बजेटमा समेत भलिबललाई आवश्यक बजेट छुट्टाउन पहल गर्ने बताउनुभयो । नेपाल भलिबल सङ्घले यसै वर्ष अन्तर्राष्ट्रिय स्तरको महिला भलिबल आयोजना गरेको तयारी प्रति अध्यक्ष प्रचण्डले सहयोगको प्रतिबद्धता जनाउनुभयो ।

कात्तिक ६, २०८१ बुधबार २:३८:५२