‘हाम्रो धैर्यता, राष्ट्रप्रेम र राष्ट्रिय एकताको भावना उच्च छ’

कैलाली, ४ माघ ।  अध्यक्ष प्रचण्डले नेपालीहरुको धैर्यता, राष्ट्रप्रेम र राष्ट्रिय एकताको भावना उच्च रहेको बताउनु भएको छ । कैलालीमा माघ १ गतेबाट सञ्चालित नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठान गोदावरी कैलालीद्वारा आज दिउँसो आयोजित गोदावरी अमृत महास्नान दिव्य सहस्त्र कुम्भ मेलामा बताउनुभएको हो । उहाँ प्रदेश नं. ७ को बैठक तथा प्रशिक्षणका क्रममा आइतवार कैलाली पुग्नुभएको हो ।

अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘राष्ट्रिय एकताको भावना उच्च छ भन्ने कुरा यो अप्ठेरोमा देखाएको कुराले पनि पुष्टि गरेको छ । यो धैर्यताले मधेश आन्दोलन र नाकाबन्दीको समस्या पनि समाधान गर्ने छौं ।’ समय बदलिई सकेकोले अब सेती महाकाली अपहेलित नहुने उहाँको भनाई थियो ।

उहाँले करिव ३० वर्ष अघि लेखराज भट्टसँग साइकल चढेर आएको स्मरण गर्नुभयो । उहाँले उक्त स्थलको धार्मिक पर्यटकीय स्थल हुँदैछ र यस क्षेत्र साँस्कृतिक आर्थिक विकासको केन्द्र बन्दैछ भन्ने सुन्दा खुसी लागेकोे बताउनु भयो । सरकारमा भएका पार्टीहरुको संयन्त्रको हैसियतले आयोजकलाई उहाँले धन्यवाद दिनुभयो । उहाँले आयोजकहरुको भूमिकाको सह्राना गर्नुभयो ।

उक्त मेला माघ १ गते सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा उद्घाटन गरिएको  थियो । मेला १ महिना अर्थात फागुन १ गतेसम्म चल्नेछ । मेलामा अध्यक्ष प्रचण्ड आज दिउँसो काठमाडौं फर्कनु अघि १ बजे पुग्नुभएको थियो । मेलामा उपाध्यक्ष क. नारायणकाजी श्रेष्ठ ‘प्रकाश’, स्थायी समिति सदस्य क. लोकेन्द्र विष्ट मगर ‘अभ्यास’, पोलिट्व्यूरो सदस्य तथा ७ न.. प्रदेश इन्चार्ज लेखराज भट्ट ‘राकेश’ लगायतको उपस्थिति रहेको थियो । उक्त मेलामा अयोजकहरुले अध्यक्ष प्रचण्ड लगायतका सबै नेताहरुको भब्य स्वागत गर्नुभएको थियो ।

माघ १९, २०८१ शनिबार ७:५२:६