हाम्रो पार्टी सिद्धान्त, निष्ठा र वर्गप्रति समर्पित पार्टी हो: अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी केन्द्र सिद्धान्त, निष्ठा र वर्गप्रति समर्पित पार्टी भएको बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘व्यक्तिवादी धेरथोर हामी सबै भएका छौं, सबैले आत्मसमीक्षा गर्नुपर्ने बेला भएको छ । यो हाम्रो सिद्धान्त, निष्ठा र वर्गप्रति समर्पित पार्टी हो, यसको सिद्धान्त अरूसँग मिल्दैन ।’ अध्यक्षले क्रान्ति एउटा लामो सिद्धान्त भएको उल्लेख गर्दै यसबारे संश्लेषणमा कम ध्यान गएको बताउनुभयो ।

महान् सहिद रामवृक्ष यादवको २७ औँ स्मृति दिवसका अवसरमा बुधबार पार्टी कार्यालय कोटेश्वरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले हजारौं सहिदहरुको सपना साकार पार्न अन्तिम समयसम्म लड्ने प्रतिवद्धता व्यक्त गर्नुभयाे ।

उहाँले कम्युनिष्ट एकता आजको आवश्यकता रहेको भन्दै सबै सकारात्मक शक्तिहरुलाई एकतावद्ध गरेर फेरि कम्युनिष्ट एकताको झण्डा उठाउने र कम्युनिष्ट एकता गरी छाड्ने संकल्पबाट पछि हट्न नसकिने बताउनुभयो । पार्टी यथास्थितिमा रहे विघटन र विसर्जनको खतरामा पर्ने डर रहेको उहाँको भनाई थियो ।

नेपालका लागि मात्रै नभइ अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनका लागि पनि विचार दिन सक्ने गरी पार्टीलाई अघि बढाउनुपर्नेमा उहाँको जोड थियो । यसका लागि पार्टीलाई तल्लो तहबाटै बलियो बनाउन उहाँले नेता कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो ।

अध्यक्ष प्रचण्डले शान्ति सम्झौता वा संघीय लोकतान्त्रिक गणतन्त्रपछि माओवादीको क्रान्तिकारी चरित्र र संस्कार उल्टो बनेको बताउनुभयो । उहाँले प्रचण्डले कम्युनिस्ट आन्दोलनभित्र एउटा प्रवृत्ति चरम निरंकुशतावादी, फाँसीवादी र आत्मसमर्पणवादी देखिएकाले त्यसविरुद्ध आन्दोलन गर्नुपरेको स्मरण गर्दै भन्नुभयो, ‘क्रान्तिकारीहरुले संकल्प गरेपछि हुँदोरहेछ भन्ने अहिलेको उदाहरण हो । प्रतिगमन सच्चिएको छ । तर अन्तिम विजय भने होइन ।’

कात्तिक ७, २०८१ बुधबार ७:२०:४३