गोरखाको विकास र समृद्धिका लागि नै आफूले यसपटकको निर्वाचनमा गोरखा आएको बताउँदै प्रचण्डले प्रतिगामी र संविधानविरोधी शक्तिहरुलाई यही निर्वाचनबाट सबक सिकाउनु पर्नेमा जोड दिनुभयो। अध्यक्ष प्रचण्डले अहिले संविधान पक्षधर र विरोधीहरुको लडाई रहेको चर्चा गर्दै सत्ता गठबन्धनले संविधानको रक्षा, समृद्धि र अग्रमगनको नेतृत्व गरेको तर एमाले र केपी ओलीले प्राप्त उपलब्धिलाई समाप्त पार्ने र देशलाई अँध्यारो सुरुङतर्फ लिन खोजेको बताउनुभयो।
राजनीतिक परिवर्तनको लागि जनयुद्धको तयारी गोरखाबाटै गरेको स्मरण गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘अहिले राजनीतिक परिवर्तन भयो तर जनताको अवस्था परिवर्तन भएन, जनतालाई समृद्ध बनाउन र देशमा आर्थिक क्रान्ति गर्न गोरखा निर्वाचन क्षेत्र नम्बर २ मा आएको छु।’
निर्वाचनबाट चुनिएर समग्र गोरखाको विकास निर्माणलाई पूर्णता दिने भन्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘यहाँको सडक विस्तार, भएका सडकलाई कालोपत्रे, विद्युतको राष्ट्रिय प्रसारण लाइन ल्याउन आफूले पहल गर्ने, शिक्षा, स्वास्थ्य र रोजगारी वृद्धि गर्ने, गाउँमा जडिबुटी उद्योग स्थापना गर्ने, हिमाली पर्वतीय पर्यटकीय क्षेत्रको विकास गर्ने र समृद्धिको सन्देश गोरखाबाट देश र विश्वभरि दिने उहाँले बताउनुभयो ।
राजनीतिक क्रान्तिका लागि गोरखा जसरी उर्वर भूमि बन्यो त्यसरी नै समृद्धिको नयाँ क्रान्तिका लागि गोरखा उपयुक्त रहेको आफ्नो ठम्याइ रहेको उहाँको भनाई थियो।
आर्थिक क्रान्तिको यात्रामा सबैको साथ र सहयोगको अपेक्षा गरेको उहाँले बताउनुभयो।