२०७१ माघ ८ गते मध्यरातमा पत्रकारसँग गर्नुभएको कुराकानी :

नेपाली जनताको अगाडि हाम्रो दल र हामीले नेतृत्व गरेको मोर्चाको तर्फबाट क्षमायाचना गर्न चाहन्छु । हाम्रो पनि प्रतिबद्धता थियो, माघ ८ गतेसम्म संविधान बनाउने यो पहिलो कुरा हो । दोस्रो कुरा हामीले कमसेकम नेपाली जनताको चाहना, नेपाली जनताले जनयुद्धमा, १९ दिनको जनआन्दोलनमा, मधेश विद्रोहमा, जनजाति आन्दोलनमा, दलित, महिला, मुस्लिम सबै सबै आन्दोलनमा जे अपेक्षा गरेका थिए । अन्तरिम संविधान, विस्तृत शान्ति सम्झौता र अन्य सहमति सम्झौतामा जे जस्तो संविधान दिने भनिएको थियो, अहिले सत्तामा रहेका पार्टीहरुले त्यसलाई उल्ट्याउन खोजेका थिए । माघ ८ गते नै ती सबैलाई उल्टएर प्रतिगामी प्रकृतिको संविधान दिने दुस्साहस गर्दै थिए । हामीले त्यसलाई सफल हुन दिइएन । त्यस अर्थमा नेपाली जनताको अगाडि मैले के भन्न सक्छु भने जे उद्देश्यका निम्ति ठूल्ठूला क्रान्ति विद्रोह आन्दोलनहरु भएका थिए । शान्ति सम्झौता, अन्तरिम संविधानमा जे प्रतिबद्धता गरिएका थिए । हाम्रो दल र हामीले नेतृत्व गरेको १९ दल त्यो प्रतिबद्धताबाट पछि हटेन र यथास्थितिवादी र प्रतिक्रियावादी संविधान बन्न दिइएन । यसमा हामीलाई गर्व छ, र आम नेपाली जनतासँग प्रगतिशील परिवर्तनकारी हिजोका ऐतिहासिक सभ्झौता अनुसार कै संविधान बनाउनका निम्ति संघर्ष निरन्तर अघि बढाउने विश्वास दिलाउँदै जनतालाई त्यसको निम्ति तयार रहन अपिल पनि गर्न चाहन्छु ।
तेस्रो कुरा, हामीले अन्तिम समयसम्म पनि सहमतिको कोशिस गर्यौं । आजै मात्र पनि हाम्रो तर्फबाट नेपाली जनतालाई निराश नपारौं, हामीले केही विषयहरुमा सहमति गरकै छौं । जस्तै निर्वाचन प्रणाली, न्याय प्रणालीसँग सम्बन्धित । अस्ती मात्र हामीले शासकीय स्वरुपको विषयमा यदि संघीयतामा पनि सहमति भएपछि आ–आफ्नो विचार राखेर जाने । हामी आफ्नो रिजर्भेसन सहित प्रक्रिया अगाडि बढ्न दिन सहमत छौं भनिसकेका थियौं । आज सहमत भएका कुरालाई सहमत भयौं भनौं र सहमति हुन बाँकी संघीयता सहितका विषयलाई दुई वा तीन हप्ताभित्र सहमति कायम गरेर जान्छौं भनेर सबै दलको तर्फबाट राजनीतिक प्रतिबद्धता दिऔं, नेपाली कांग्रेस र एमालेका नेताहरुलाई भन्यौं । तर उहाँहरुमा बहुमतको यति धेरै दम्भ र अहंकार छ । अन्तिम समयसम्म हाम्रो तर्फबाट गरिएको अनुरोधलाई नेपाली जतालाई निरास नपारौं । ती सहिदहरु, वेपत्ता योद्धाहरु, घाइते अपाङ्गहरु, लाखौं नेपाली श्रमजीवी जनता, सबै परिवर्तनकारी जनताको भावनामा कुठराघात नगरौं, एउटा राजनीतिक सहमति जो बनेको छ, किनकी निर्वाचन प्रणाली, न्याय प्रणाली, शासकीय स्वरुपमा सैद्धान्तिक सहमति भैसकेपछि यति सहमति भयो, अब संघीयतामा सहमति गर्छौं भन्ने एउटा राजनीतिक वक्तव्य दिऔं भन्दा पनि उहाँहरु तयार हुनुभएन । उहाँहरुले जवर्जस्ती जसरी भएपनि बहुमतद्वारा हामीले आफ्नो अनुसारको प्रतिगमनकारी पछि हटेको संविधान बनाउन सक्छौं भन्ने घमण्डले गर्दा आज हुनै लागको सहमति तोड्नु भयो । अहिले आज १२ बज्न जाँदैछ, यतिबेला देशले संविधान पाउनु पर्ने नभए पनि संविधान बनाउने गतिलो राजनीतिक प्रतिबद्धता पाउनु पर्ने ठाउँमा फेरि पनि बहुमतको दम्भ देखाउने जो कोशिस भएको छ, त्यो गलत भएको छ । अन्तिममा म के भन्न चाहन्छु भने यति हुँदा हुँदै पनि हाम्रो तर्फबाट हिजोका सम्झौता अनुसार राजनीतिक दलहरुको बीचमा सम्वादबाट, सहमतिबाट संविधान बनाउने हाम्रो प्रयास निरन्तर जारी रहने छ, वार्ता हामी निरन्तर अघि बढाउने छौं । १९ दलको अघि भर्खर बैठक बसेर एकमतले यो निर्णय गरेको छ ।
प्रक्रियामाजाने भेनर जसरी बहुमतको बलमा जवर्जस्ती गर्न खोजिएको छ, भर्खर सभाध्यक्षले प्रक्रियानै निरन्तर जारी राख्ने कुरा गरे, यसबाट सभाध्यक्षले पनि सहमति बनाउनेतिर भन्दा पनि कांग्रेस एमालेकै इच्छा अनुसार जान खोजेको कुरा व्यक्त गर्नुभयो । मलार्य आश्चर्य लागेको कुरा अघिल्लो संविधानसभामा पनि उहाँ नै सभाध्यक्ष हुुनुहुन्थ्यो । चार वर्ष लाग्दा पनि उहाँले संविधानसभाको वैठकसम्म अन्तिममा नराखेर सहमति सहमति भन्ने सभाध्यक्ष अहिले वैधानिक ढंगले अझै थुप्रै समय छ यो संविधानसभाको । तर उहाँले अहिले जसरी प्रक्रिया भनेर भन्नु भएको छ, त्यो विल्कुल शोभनीय लागेको छैन, उहाँको हकमा त्यो त्यति ठीक लागेको छैन । तर उहाँले प्रक्रिया सुरु गरेको त अस्ति पाँच गते बेलुका देखिनै हो, जतिबेला उहाँले प्रश्नावली बनाउने प्रस्ताव समिति भन्नु भएको छ, त्यतिबेला देखिनै बहुमतिय प्रक्रिया भन्नुभएको छ, हामी त्यसको विरोधमा छौं । हामी नेपाली जनताको परिवर्तनका चाहना अनुसार सहमतिबाट हिजो भएका ऐतिहासिक सहमति सम्झौतालाई नै टेकेर संविधान बनाउनु पर्दछ । यो शान्ति समझौताको पनि हिस्सा हो संविधानसभा । यो शान्ति सम्झौताका हिस्सालाई छाडेर, बाहिर राखेर प्रक्रियामा लैजान खोजियो भने यो पनि प्रतिक्रियावादी षड्यन्त्रकै हिस्सा हुन्छ भनेका छौं । यो दुर्भाग्यपूर्ण हुन्छ । आजै पनि हामीले सहमतिको निम्ति अन्तिम समयसम्म जति सहमति भएको छ सहमति भनौं बाँकी सहमित गरेर जाने राजनीतिक प्रतिबद्धता दिएर जनतालाई विश्वासमा लिएर जाऔं भन्दा पनि मान्नु भएन । यसले उहाँहरु संविधान बनाउने सहमतिबाट यो देशलाई शान्ति र स्थिरता तिर हैन अराजकता र राजनीतिक मुठभेड तिर लैजान तिर उद्दत देखिनुहुन्छ । यो सबै परिवर्तनकामी शान्तिकामी नेपालीको लागि दुर्भाग्य कुरा हो ।
हामीले यो प्रक्रिया यसरी बहुमतको प्रक्रियाबाट संविधानसभाबाट बनाएर पनि संविधान कार्यान्वयन हुन हुने कुरा स्थिति पनि छैन । त्यसकारण सहमति तिरनै जोड गर्नुपर्छ भन्ने हामम्रो नीति यथावत् छँदैछ । यदि भोलि पनि उहाँहरुले बलजफ्ती गर्न खोज्नुभयो भने हामी तर्फबाट प्रतिवाद पनि जारी रहन्छ । निरन्तर प्रतिवाद गरिरहन्छौं । धन्यवाद ।

असोज ४, २०८१ शुक्रबार ८:३७:२