आठौं महाधिवेशनमा सिंगाे पार्टीकाे आत्मसमिक्षा र आत्माआलोचना गरिन्छः अध्यक्ष प्रचण्ड (भिडियाे)

काठमाडौं । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको आठौँ महाधिवेशनमा आफूहरुको आत्मसमिक्षा र आत्माआलोचना गरिने बताउनुभएको छ ।
आइतबार पार्टीकाे आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टीको आठौँ महाधिवेशनमा पार्टी आजको दिनसम्म विचार, संगठन, संरचना, रणनीति र कार्यनीतिको सम्बन्धमा कहाँ चुक्यो त्यसको समिक्षा हुने बताउनुभयो ।

उहाँले माओवादी पार्टी अहिले कमजोरजस्तो देखिनुमा अरुलाई आरोपित नगर्ने भन्दै आफु प्रमुख नेता भएकाले आफैँलाई चिरफार गरेको पनि उल्लेख गर्नुभयो । अध्यक्ष दाहालले माओवादी केन्द्रको महाधिवेशनमा कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउन चाहाने र समाजवादी आन्दोलनलाई अगाडी बढाउन चाहानेहरु सबैलाई उत्प्रेरणा दिने उद्देश्यले प्रस्तुत हुने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो – ‘यो महाधिवेशनबाट हामीले गर्न चाहेको कुरा एउटा चाहीँ आत्मासमिक्षा नै हो । आत्माआलोचना नै हो । हामी शान्ति प्रक्रियामा आएपछि कहाँ कहाँ चुक्यौँ ? विचारको क्षेत्रमा, संगठनको क्षेत्रमा, संरचनाको क्षेत्रमा, रणनीति, कार्यनीतिमा कहाँ चुक्यौँ ? र यति चाहीँ म सुरुमै भन्न चाहान्छु, यो प्रस्तावमा सबभन्दा धेरै आत्मसमिक्षा मैले मेरै गरेको छु । तपाईहरुले त्यो प्रतिवेशन पारित भइसकेपछि देख्नुहुनेछ । जनयुद्धको तयारी र नेतृत्व गर्ने अवसर मलाई जुट्यो । शान्ति सम्झौतामा हस्ताक्षर गर्ने, बाह्रबुँदे समझदारी गर्ने, संयुक्त जनआन्दोलन उठाउने, संविधानसभा प्रधानमन्त्रीजीले जसरी भन्नुभयो, यो सबै अवसर पनि मलाई प्राप्त भयो । अहिले माओवादी आन्दोलन कमजोरजस्तो, माओवादी पार्टी कमजोरजस्तो देखिनुमा मैले अरुलाई आरोपित गरेर हुँदैन । मैले प्रमुख नेताको हैसियतले म भित्र नै खोज्नु पर्छ भनेर मैले आफैलाई चिरफार गरेको छु । मलाई लाग्छ यसले हामी सबैलाई, खालि माओवादीलाई मात्रै होइन, नेपालमा साँचो अर्थमा कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउन चाहाने, समाजवादी अभियानलाई साँचो अर्थमा अगाडी बढाउन चाहानेहरु सबैलाई एउटा उत्प्रेरणा देओस् भन्ने उद्देश्यको साथ यो महाधिवेशनमा हामी प्रस्तुत हुँदैछौँ ।’

उहाँले नेकपा एमालेसँग गलत उद्देश्यले एकता नगरेको भन्दै के कारणले पार्टी विभाजन हुन पुग्यो समिक्षा आत्मसमिक्षा गर्न नेकपा(एमाले)का नेता, कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । देशलाई स्थायित्व दिन र समाजवादतिर लैजाने उद्देश्य राखेर एकता गरिएको उहाँले स्पष्ट पार्नुभयो । पार्टी एकता गरेर गल्ती नगरेको जिकिर गर्दै उहाँले समिक्षा आवश्यक रहेको बताउनुभयो ।

अध्यक्ष प्रचण्डले भन्नुभयो – ‘हामीले पार्टी एकता गरेर गल्ती गरेका थिएनौँ । म सिंगो नेकपा(एमाले)का साथीहरुलाई भन्न चाहान्छु, हामीले गल्ती गरेका थिएनौँ । फेरी एकचोटी आत्मसमिक्षा गरौँ । कहाँ थियो त गल्ती ? के कारणले हामी दुई ठाउँमा हुन पुग्यौँ ? के कारणले त्यत्रो सपना हामीले आफैले भत्कायौँ ? त्यसको समिक्षा गरौँ । हामीले गल्ती गरेका थिएनौँ । हाम्रो उद्देश्य गलत थिएन । हामीले यो देशलाई स्थायित्व र समाजवादतिर लैजाने सपना पुरा गर्ने उद्देश्य राखेका थियौँ ।’

प्रतिवेदनमा सूचना प्रविधिमा भएको विकास र भूमण्डलीकरणले पारेको असरदेखि जलवायु परिवर्तन, पार्टी सञ्चालनमा देखिएको समस्या र सांस्कृतिक रुपान्तरणको विषय समेत रहेको उहाँले बताउनुभयाे । उत्पादक शक्ति र उत्पादन सम्बन्धमा आएको परिवर्तन र त्यसको अन्तर्द्वन्द्वको अवस्था पनि समेटिएको अध्यक्षले बताउनुभयाे । ‘यस विषयको व्याख्यामा अलि बढी मिहिनेतका साथ नयाँ कार्यदिशा दिने कोसिस गरेको छु,’ अध्यक्ष प्रचण्डले भन्नुभयो।

कात्तिक ६, २०८१ मंगलबार २३:५१:२१