एमाओवादी सम्पादक मण्डलको आयोजनामा अन्तर्क्रिया

interaction_proकाठमाडौं, १७ पुस । एकीकृत नेकपा (माओवादी)को सम्पादक मण्डलको आयोजनामा अन्तर्क्रिया कार्यक्रम काठमाडौंको अनामनगरमा सम्पन्न भएको छ । अध्यक्ष प्रचण्डको उपस्थितिमा जारी अन्तर्क्रियामा देशका वाम बुद्धिजीविहरुको सहभागिता रहेको थियोे । उक्त अन्तर्क्रिया कार्यक्रममा अध्यक्ष प्रचण्डले पूँजीवादी जनवादी क्रान्ति आधारभूतरुपमा पुरा भएको र समाजवादी क्रान्तिको आवश्यकतासँग जोडेर विश्व क्रान्ति र नेपाली क्रान्तिको रणनीतिबारे नयाँ विचारको अन्वेषण निम्ति अध्ययन अनुसन्धान जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मार्क्सवाद माथि भईरहेका प्रहारको विरुद्ध नेपाली वाम बुद्धिजीविहरुबाट प्रतिवाद भईरहेको छ ।’ नेपालमा मात्रै नभएर विश्वमै माक्सवादप्रति चासो बढ्दै गएको उहाँको धारणा थियो । कम्युनिष्ट आन्दोलन राष्ट्रिय आन्दोलन मात्र नभएर अन्तराष्ट्रिय आन्दोलन हो, हामी यतिबेला नयाँ फड्कोको तयारीमा छौं, राष्ट्र र वर्गप्रतिको निष्ठाले मानिसलाई नयाँ उचाईमा लैजान सक्छ,  मार्क्सवादको चुरो कुरो दुनियाँ बदल्नु हो । हामी दुनियाँ बदल्ने प्रयासमा छौं, बुद्धिजीविहरुले आत्मविश्वास गुमाउनु हुँदैन बरु दुनियाँ बदल्ने काममा आफ्नो बौद्धिक शक्ति लगाउनु पर्छ,– उहाँले भन्नुभयो ।

उक्त अन्तर्क्रियामा हरि रोका, श्याम श्रेष्ठ, हरि गोविन्द लुइटेल, सोमत घिमिरे, राजेन्द्र महर्जन, सुरेश ढकाल लगायतका बाम बुद्धिजीविहरु रहेका थिए । अन्तर्क्रियामा एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’,सहित पार्टीको सम्पादक मण्डलका सदस्यहरु गोपाल किराती, दीनानाथ शर्मा, आहुति र उर्मिला अर्यालको सहभागिता रहेको थियो । पार्टीको हालै सम्पन्न केन्द्रीय समितिको पूर्ण बैठकले आन्तरिक प्रकाशन व्यवस्थित गर्न अध्यक्ष प्रचण्डको संयोजकत्वमा ५ सदस्यीय सम्पादन मण्डलको निर्माण गरेको छ । उक्त मण्डलमा नेताहरु गोपाल किराती, दीनानाथ शर्मा, आहुति र नेतृ उर्मिला अर्याल रहनुभएको छ ।

कात्तिक ६, २०८१ बुधबार ५:२४:५६