कम्युनिष्ट पार्टीको नेतृत्वमा मात्र मधेसी जनताको मुक्ति संभव छः अध्यक्ष प्रचण्ड

2 state_meeting-2महोत्तरी, २० पुस । अध्यक्ष प्रचण्डले कम्युनिष्ट पार्टीको नेतृत्वमा मात्र मधेसी जनताको मुक्ति संभव भएको बताउनु भएको छ । २ नं. प्रदेश (भोजपुरा र मिथिला) को प्रदेश समितिको बैठकलाई सोमबार सम्बोधन गर्दै उहाँले सो कुरा बताउनु भएको हो । मधेसमा सामन्त जमिन्दारहरुले लामो समयदेखि शोषण गर्दै आएको उल्लेख गर्दै उहाँले शोषणको बिरुद्ध आवाज बुलन्द गर्ने कम्युनिष्टहरु नै भएको पनि स्पष्ट पार्नुभयो । अध्यक्षले भन्नुभयो, ‘यहाँका किसानहरुले सामन्त जमिन्दारहरुलाई विगतमा जुन चुनौति दिए ति चानचुने थिएनन् । मधेसमा भएका किसान संघर्ष, जमिन्दार, सामन्त र दलालहरुका विरुद्ध भएका मधेसका बिद्रोह नै नेपालमा कम्युनिष्ट पार्टी निर्माण गर्ने प्रेरणा थिए ।’

अध्यक्ष प्रचण्डले बैठकलाई सम्बोधन गर्दै भन्नुभयो,– ‘पहिचान, सिमाङ्कन भनेर हिँड्नेहरु न त संविधान, न त पहिचान र न सिमाङ्कन नै चाहान्छन् । उनीहरु माओवादीलाई बद्नाम गर्न चाहान्छन् । यो कुरा जनतालाई हामीले यो भन्नु पर्यो, बुझाउनु पर्यो।

पूँजीपतिले मजदुरको हित गर्छ भन्नु र बाघले बाख्राको मुक्ति गर्छ भन्नु सरह हो । दलालहरुबाट मधेसी जनताको मुक्ति संभव छैन । ठूलाठूला क्रान्ति गरेका मधेसी जनताको नामबाट मधेसी जनतालाई खोसेर लाने कोशिष गरिँदैछ । जनसंख्याको ठूलो भाग ओगटेको यो प्रदेशको निकै ठूलो महत्व रहन्छ । र यसका गतिविधि र भूमिकाले राष्ट्रिय राजनीतिमा ठूलो प्रभाव पार्दछ । त्यसैले तपाईहरुको काँधमा निकै ठूलो जिम्मेवारी आएको छ । यो टीमलाई मिलाएर जान,े आफैंलाई चिन्ने र आफ्नो इतिहासलाई चिन्नु हो भने निकै ठूलो महत्व रहन्छ ।

जनयुद्धमा पनि मधेसकै विद्रोह, संघर्ष र क्रान्तिहरुबाटै शिक्षा लिईएको थियो । क. रामबृक्ष यादवको नेतृत्वमा मधेस आन्दोलनको योजना बनाएका थियौं । कम्युनिष्टहरुले बनाएको हो, मधेस किसान संघर्ष र मधेस बिद्रोह । गौर हत्याकाण्ड आसपास मधेसी जनता उठेपछि मधेस आन्दोलन उठ्यो । तर त्यसपछिका आन्दोलन कम्युनिष्टहरुका हातबाट बाहिर गयो । शान्तिप्रक्रियामा आईसकेपछि मधेसको नेतृत्व अरुको हातमा लान खोजिँदैछ  । या त कम्यनिष्ट आन्दोलनका विरुद्ध गएका या त कम्युनिष्ट आन्दोलनबाट भागेकाहरुको नेतृत्वमा मधेस आन्दोलन गयो । पहाडीहरुले सबै लगे भन्ने भ्रम फिजाइएको छ । पाएका कुरा मधेस पाहाड दुबैतिरका जनताले पाएका छन् । नपाईएको कुरा मधेस पाहाड दुबैतिरका जनताले पाएका छैनन् ।

केही समयदेखि पार्टीले पार्टी निर्माणमा भन्दा संविधान निर्माणमा नै विशेष जोड दिएको थियो । विगत दुई वर्ष पार्टीको कामलाई दोस्रो र संविधान निर्माणको कामलाई पहिलो प्राथमिक कार्ययोजनामा राखिएको थियो । त्यसैले पार्टी जीवनमा गति कम भएको थियो ।
समानुपातिक, समावेशी सिद्धान्तमा आधारित संविधान घोषणा भयो, यो नै ठूलो उपलब्धी हो । तर संविधानमा कमिकमजोरीहरु छन् । ति कमि कमजोरीहरुलाई हटाउँदै जानु पर्छ । अब पार्टी बनाएरै छोड्नु पर्छ भन्ने स्पिरिटका साथ हाम्रो केन्द्रीय समिति बैठक बस्यो । संविधानले नै राज्य समाजवाद उन्मुख छ भनेर सम्बोधन गरेकाले हेटौंडा महाधिवेशनले पारित गरेको समाजवादी क्रान्तिको नयाँ चरणमा वैधानिक रुपले नै प्रवेश गरेको छ । हामीले राज्यको नयाँ संरचना अनुरुप नै संगठनात्मक स्वरुप निर्माण गरेका छौं ।

रणनीति, कार्यनीति, संगठनात्मक संरचनाबारे व्यापक छलफल गरी पारित प्रस्ताव गर्यौं र यो छलफलले पार्टीमा नयाँ एकता र स्पिरिट पैदा भएको छ । जहाँसम्म संगठनको सवाल छ– तीन महिनाभित्र नयाँ पार्टी बनाउने लक्ष्य राखिएको छ । बैचारिक, राजनैतिक र संगठनात्मक नीति पास गरेका छौं । हाम्रो लागि पार्टी बनाउने यो राम्रो अवसर भएको छ । संविधान निर्माणदेखि सरकार निर्माणसम्म आउँदा जनताको नेतृत्व र पार्टीप्रति विश्वास र आशा भरोसा बढेको छ । यति ठूला ठूला मुद्धा लिएर आएको पार्टी, ठूलो त्याग गरेको पार्टीको साख राम्रोसँग बढेकोले पार्टी पुनर्निर्माण गर्ने राम्रो आधार मिलेको छ । दुई बर्षभित्र १ नं. को पार्टी निर्माण गर्न सकिन्छ भन्ने आत्माविश्वास जागेको छ ।

केन्द्रीय समितिको आठौं बैठकमा पारित दस्तावेज आफैंप्रति निर्मम भएर आएको दस्तावेज हो । यति निर्मम भएर दस्तावेज ल्याईसकेपछि पार्टी बन्छ भन्ने आशा राखिएको थियो । तर बाबुरामजीले किचलो निकालीरहनु भयो, जसले पार्टी बनाउने काम अगाडि बढाउन सकिएन ।

वर्ग, राष्ट्र र जनताको निम्ति सक्यौं र आफैंप्रति निर्मम हुन सक्यौं भने पार्टी निर्माण र हाम्रो लक्ष्यमा पुग्न सक्छौं । आउने वर्षमा यो प्रदेशले कस्तो काम गर्छ भन्ने पार्टी पूनर्निर्माण अभियानमा महत्वपूर्ण भूमिका रहन्छ ।’

कात्तिक ६, २०८१ बुधबार ५:१५:४