जनयुद्धको सिद्धान्त भूलेका छैनाैंः अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धको सिद्धान्त आफूले नभूलेको बताउनुभएकाे छ । बिहीबार काठमाडौंमा भरत ढुंगाना स्मृतिग्रन्थ सार्वजनिकीकरण तथा परिचर्चा कार्यक्रममा अध्यक्ष प्रचण्डले देशी बिदेशी प्रतिक्रियावादीको जोड माओवादी उपलव्धि ध्वस्त पार्नेमा रहेको बताउनुभयाे ।

पहिले भएका उपलब्धिलाई नबिर्सिन आग्रह गर्दै उहाँले वैज्ञानिक समाजवाद, साम्यवादका निम्ति अझै लड्न तयार रहेको धारणा राख्नुभयाे । उहाँले उपलब्धी थोरै भए स्वीकार्नुपर्ने बताउँदै भन्दै केही होइन भनेर एक्लै बस्न नहुने बताउनुभयाे । पहिलोपटक आफू प्रधानमन्त्री हुँदा जनयुद्धकालका सबै सहिदहरुलाई राष्ट्रिय सहिद बनाएको स्मरण गर्दै कार्यान्वयन नभएको गुनासो गर्नुभयो । उहाँले भर्खरै भूमिगतबाट खुला राजनीतिमा आएका नेत्रविक्रम चन्द विप्लवलाई पनि सहकार्यको संदेश दिँदै भन्नुभयाे, ‘ हामी सहकार्यको बाटोमै छौं ।’ आफूले राजनीतिबाट अझै हार नखाएको र समृद्धि र परिवर्तनका लागि झै लड्ने उहाँकाे प्रतिवद्धता थियाे ।

त्यसैगरि बिहीबार नै जनयुद्धका क्रममा जनमुक्ति सेनासँगै रहेर स्वास्थ्यकर्मिको भूमिका खेलेका योद्धाहरुले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले उमेर ढल्कदै गएपनि हार नखाएको बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘यो बीचमा पुराना साथीहरु छुटेको साँचो हो । अव एक पटक फेरी कोर्ष करेक्शन गर्न तयार छु,म छोड्ने वाला छैन । फेरि क्रान्तिमा जाने वाला र लड्नेवाला छु । माओले ७६ वर्षमा साँस्कृतिक क्रान्ति गरेका थिए । म अहिले पनि लडिरहेको छु, लड्नेछु ।’

जनयुद्ध लडेर आएका योद्धाहरुलाई सुन र शान्तिपूर्ण राजनीतिमा थपिएकालाई चाँदीको संज्ञा दिँदै अध्यक्ष प्रचण्डले भन्नुभयाे, ‘संस्थागत ढंगले पुराना साथीहरु समेट्न ध्यान दिनुपर्ने त्यो नपुगेको हो । जुन भरोषा नेतृत्व र पार्टीप्रति राख्नुभयो त्यसले फेरी पनि हाम्रो विजयको दिन आउनेछ भन्ने विश्वास छ । संस्थागत रुपले जति अनुगमन गर्नुपर्ने हो त्यो हुन नसकेको साँचो कुरा हो । त्यसैले जनमुक्ति सेना कोही खाडी, कोही बेरोजगार हुनुपर्ने कुरा दुखद हो । अब हामी केन्द्रीय कमिटी र कार्यकर्ता भेलामा जनमुक्ति सेनालगायत सवैलाई समेट्ने छौं । जनसेनासँगै फर्मेशनमा हिडेर योगदान गरेका स्वास्थ्यकर्मिलाई पार्टीले मात्रै भएपनि प्रमाणपत्र दिनेछौं ।’

खाडीमा रहेकादेखि पुराना नेताकार्यकर्ताले अहिले पनि आफूलाई ‘प्रचण्ड हाम्रो नेता हो, फेरि पनि लड्न पर्यो भने हामी आउनेछौं’ भन्ने गरेको प्रसंग सम्झिएर भावुक बन्नुभएका अध्यक्ष प्रचण्डले थप्नुभयाे, ‘खाडीमा दुख:पाएर बस्दै गर्दा पनि उहाँहरुले त्यो कुरा गर्नु निक्कै भावुक र संवेदनशील कुरा हो । नेतृत्वप्रतिको विश्वास हो ।’

केपी प्रबृतीका विरुद्ध १९ पेजको डकुमेण्ट लेख्दै गर्दा नयाँ आन्दोलन सुरु गरेको महसुस भएको स्मरण गर्दै उहाँ भन्नुभयाे, ‘षडयन्त्रकारी लिडरसिप माथि बम बर्साउ भन्ने चिनियाँ भनाई थियो, मैले पनि ओली प्रबृतीप्रति प्रहार गरेको हो । युद्ध भनेर अहिले हिंसामा जाने भनिएको त हैन । तर शान्ति मार्फत युद्ध गरेको हो । अहिले पनि युद्ध चलिरहेको छ । अझैपनि ठूल्ठुला षडयन्त्रहरु भइरहेका छन् । त्यसका विरुद्ध हामी अहिले फेरी आफैं, आफ्नै खुट्टामा उभिने अवस्थामा आईपुगेका छौं । सवै क्रान्तिकारीहरु माथि नै भर पर्ने अवस्था आएको छ, त्यसकै आधारमा मैले हेडक्वाटरमा बम बहाड गरेको हो ।’

कात्तिक ६, २०८१ मंगलबार २३:४६:४३