संविधान नबनेको भए जनयुद्धको औचित्य पुष्टि हुन्न थियोः अध्यक्ष प्रचण्ड

काठमाडौं, २१ पुस । अध्यक्ष प्रचण्डले संविधानसभाबाट संविधान नबनेको भए जनयुद्ध र हजारौं सहिदहरुको सहादतको औचित्य पुष्टि नहुने बताउनु भएको छ । क्रान्तिकारी पत्रकार संघको केन्द्रीय कार्यालयको विस्तारित बैठकलाई सम्बोधन गर्दै आज लाजिम्पाटमा उहाँले सो कुरा बताउनु भएको हो । उहाँले विगतमा संविधान बनाउने काम पहिलो प्राथमिकतामा राखेका कारण पार्टी संगठनमा ध्यान दिन नसकेको बताउनु भयो ।

अध्यक्ष प्रचण्डले पत्रकारहरुलाई सम्बोधन गर्दै भन्नुभयो, ‘पार्टी बिग्रँदै गएको कुरा सबैभन्दा भुक्तभोगी तपाई पत्रकारहरु नै हुनुहुन्छ । डेढ दुई वर्षमा हाम्रो ध्यान संविधान बन्छ कि बन्दैन भन्नेमा मात्र गयो । पार्टी बरु जे जे होला पछि सम्हालौला भनियो । पार्टी सम्हालौं भने संविधान नबन्ने भयो । संविधान बनाउनेमा केन्द्रित हुने हो भने पार्टी नबन्ने भयो । रोज्दा अहिले पार्टी नै रोकौं भन्ने भयाे । संविधान महत्वपूर्ण छ भन्ने ठानियो । त्यो कारणले पार्टी पुनर्निर्माण र पार्टीलाई व्यवस्थित गर्ने काम दोस्रोमा पर्न गयो । संविधानको लागि संघर्ष वा सम्झौता जे गरेर भएपनि संविधान घोषणा गराई छाड्ने भन्ने पहिलो प्राथमिकतामा परेको हुनाले २/३ वर्षदेखि हाम्रा पार्टी कामहरु झन अस्वव्यस्त भएका हुन् ।’

कात्तिक ६, २०८१ बुधबार ५:१७:२५