नेपाल सम्वतलाई व्यवहारमा उतार्ने संकल्प गरौं, `प्रधानमन्त्री´

कार्तिक ११, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल सम्वतलाई राष्ट्रिय सम्वतको रुपमा घोषणा गरिएकाले अब घोषणालाई व्यवहारमा उतार्ने संकल्प गर्नुपर्ने बताउनु भएको छ ।
आइतबार नेपाल सम्वत् ११३७ को उपलक्ष्यमा थानकोटमा नेपाल सम्वतका प्रवर्तक एवं राष्ट्रिय बिभूति शङ्ख्वाधर शाक्वाको शालिक अनावरण कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताउनु भएको हो । प्रधानमन्त्रीले भन्नुभयो, ‘नेपाल सम्वत् नेवारहरुको मात्र सम्वत् होइन, सारा नेपालीको सम्वत् हो । यो नेपालको मौलिक सम्वत् पनि हो । अघिल्लो कार्यकालमा मैले यसलाई राष्ट्रिय सम्वत् घोषणा गरें । यसपटक हामी सबै मिलेर यसलाई व्यवहारमा उतार्ने संकल्प गरौं ।’
कार्यक्रममा शङ्ख्वाधर शाक्वा सामाजिक न्यायका अभियान्ता भएको स्मरण गर्दै भन्नुभयो, ‘शाक्वाले जनताको ऋणमोचन गर्नुभएको थियो । उहाँको यो काम नेवारहरुका लागि मात्रै नभएर त्यतिबेलाको सन्दर्भमा सामाजिक न्यायका क्षेत्रमा ठूलो अभियान थियो ।’ कार्यक्रममा प्रधानमन्त्रीले सरकार संविधान संशोधन र कार्यान्वयन, भूकम्पको पूनर्निर्माण र सुशासनका लागि क्रियाशील रहेको जानकारी गराउँदै थानकोट–कलङ्कीको सडकलाई फराकिलो पार्ने काममा सरकारले विशेष जोड दिएको बताउनुभयो ।
कार्यक्रममा सांसदहरु रुपा महर्जन, भीमसेनदास प्रधान, पूर्व राज्यमन्त्री दीलिप महर्जन लगायतले नेपाल सम्वतको महत्वबारे चर्चा गर्नुभएको थियो ।

कात्तिक ६, २०८१ बुधबार २:२८:२९