पार्टी पुनर्निर्माणका लागि अध्यक्षबाट कार्यकर्तामा निर्देशन

CM on Schooling Program @ Itahariसुनसरी, १८ पुस । अध्यक्ष प्रचण्डले एमाओवादी पार्टीलाई रुपान्तरणसहित नयाँ बनाउन कार्यकर्तामा निर्देशन दिनु भएको छ । सुनसरीको इटहरीमा १ नम्बर प्रदेशको प्रदेश समिति बैठकलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘बैचारिक रुपमा स्पष्ट नभई क्रान्ति अगाडि नबढ्ने भएकाले पार्टीलाई पुनर्निर्माण गर्न यसपटकको केन्द्रीय समिति बैठकले महत्वपूर्ण निर्णय गरेको छ ।’ उहाँले समाजवादी क्रान्ति पुरा गर्नको निम्ति बैचारिक रुपमा कार्यकर्ता र जनतालाई प्रशिक्षित पार्न र अवसरवादको भण्डाफोर गर्न पार्टी मुखपत्र प्रकाशित गर्ने निर्णय भएको पनि बताउनु भयो ।

सातौं केन्द्रीय समितिको आठौं पूर्ण बैठकमा प्रस्तुत दस्तावेज आफैंप्रति निर्मम भएर पेस भएको बताउँदै अध्यक्ष प्रचण्डले पार्टीको मुख्य नेतृत्व संविधानसभा र सडकमा भएका संघर्षबाट सच्चिएर संविधान जारी गर्न सक्षम बनेको धारणा राख्नुभयो । उहाँले कार्यकर्तालाई पनि रुपान्तरणसहित पार्टीलाई नयाँ बनाउन निर्देशन दिनुभयो । अध्यक्षले कार्यकर्तामा निर्देशन दिँदै भन्नुभयो– पार्टीलाई नयाँ बनाउने उद्धेश्यका साथ केन्द्रीय समितिको बैठक बसेको हो, त्यही स्पिरिटका साथ प्रस्ताव आएको र पारित भएको हो, सबै कमरेडहरुले यसलाई आत्मसाथ गरी दृढतापूर्वक अगाढि बढौं ।’

क्रान्तिकारी पार्टी र नेतृत्व बारे जनतामा भ्रम पार्न प्रतिक्रियावादीहरु लागेको बताउँदै अध्यक्षले त्यसको भण्डाफोर गर्न निर्देशन गर्नुभयो । पार्टीको आधिकारिक लाईन आम जनता र कार्यकर्तामा पुर्याउनको निम्ति मुखपत्र प्रकाशित गर्न लागिएको उहाँको भनाई थियो । यसका लागि सम्पादक मण्डलले मुखपत्र प्रकाशित गर्ने र स्कूलिङ विभागले प्रशिक्षण गर्ने निर्णय भएको अध्यक्ष प्रचण्डको भनाई थियो । उहाँले यसै आधारमा बैचारिक रुपमा क्रान्तिकारी पार्टी निर्माण गर्न गईरहेको स्पष्ट पार्नुभयो । एक वर्षसम्म बसेको केन्द्रीय समिति बैठकले पार्टी निर्माणका लागि विशेष ध्यान दिएको छ – उहाँले भन्नुभयो ।

पूँजीवादी जनवादी क्रान्ति नयाँ जनवादी क्रान्ति नभएको बताउँदै हेटौंडा महाधिवेशनमा पार्टीले समाजवादी क्रान्तिको कार्यदिशा पारित गरेको उहाँको भनाई थियो । अध्यक्ष प्रचण्डले संविधान घोषणासँगै हामी पूँजीवादी जनवादी क्रान्ति गरी बैधानिकरुपमा समाजवादी क्रान्तिको चरणमा पुगेका बताउनु भयो । ‘हामीले समाजवादी क्रान्तिको कुरा गरेपछि एमालेले पनि समाजवादी क्रान्तिको कुरा उठाएको तर हाम्रो समाजवादी क्रान्ति वैज्ञानिक समाजवादमा आधारित क्रान्ति हो, अध्यक्ष प्रचण्डले भन्नुभयो । अबका ६÷८ महिनामा पार्टीलाई नयाँ ठाउँमा पुर्याउने शक्ति आफूहरुसँग रहेको अध्यक्षको धारणा थियो ।

हामीले संकल्प गरे पार्टीलाई नयाँ ठाउँमा पुर्याउने छौं, त्यो गर्न सके सबै माओवादी फेरि एकै ठाउँमा आउँछन्, पार्टी पुनर्निर्माणसँगै पार्टी एकताको प्रकृया पनि तीब्र ढंगले अगाडि बढ्छ, अध्यक्षले भन्नुभयो । आजबाट सुरु भएको १ नं. प्रदेशको प्रदेश समितिको बैठकमा विगतका कोचिला, लिम्बुवान र किरातका १४ जिल्लाका जिल्ला अध्यक्षले पार्टीको बस्तुगतस्थितिका बारेमा रिपोर्टिङ गरेका थिए । रिपोर्टिङ जीवन्त र उत्साहजनक रहेको थियो । १४ जिल्लाका पार्टी अध्यक्षको रिपोर्ट पश्चात अध्यक्ष प्रचण्डले करिब २ घण्टा कार्यकर्तामा सम्बोधन तथा निर्देशन गर्नुभएको थियो ।

बैठकमा उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’, महासचिव कृष्णबहादुर महरा, स्थायी समिति सदस्यहरु लोकेन्द्र विष्ट मगर र गोपाल किराती, केन्द्रीय कार्यालयका मुख्य सचिव प्रल्हाद बुढाथोकी लगायत पार्टीका पोलिट्व्यूरो र केन्द्रीय सदस्यहरुको पनि उपस्थिति रहेको थियो । बैठकको अध्यक्षता प्रदेश इन्चार्ज तथा पोलिट्व्यूरो सदस्य सुरेन्द्र कार्की ‘पार्थ’ले गर्नुभएको थियो भने सञ्चालन पोलिट्व्यूरो सदस्य सुरेश कुमार राई ‘हिमाल’ले गर्नुभएको थियो ।

यही पुस ९ गते बसेको स्थायी समिति बैठकले ७ प्रदेशमा बैठक प्रदेश समितिको बैठक गर्ने निर्णय गरेको थियो । सोही अनुसार १५ गते ३ नं। प्रदेशको काठमाडौंमा बैठक बसिसकेको छ भने आज पुस १८ गते १ नं। प्रदेशको इटहरीमा बैठक भएको छ । त्यसैगरी पुस २० गते २ नं। प्रदेशको बर्दिवासमा, पुस २२ गते ४ नं। प्रदेशको पोखरामा, पुस २५ गते ५ नं. प्रदेशको दाङमा, पुस २८ गते ६ नं. प्रदेशको सुर्खेतमा र पुस ३० गते ७ नं। प्रदेशको धनगढीमा प्रदेशको बैठक बस्नेछ ।

त्यसैगरी आज बिहान अध्यक्ष प्रचण्डले बिराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै आइतबारसम्ममा ३ दल र मधेसी मोर्चा एउटा टुङ्गोमा पुग्ने बताउनु भएको थियो । उहाँले भन्नुभयो, आज एमाले र मधेसी मोर्चाको छलफल हुन्छ, भोली व्यवस्थापिका–संसदको बैठक अघि एउटा टुंगोमा पुगिन्छ ।’

उहाँले संशोधन प्रस्तावमा एमाओवादी, एमाले र काँग्रेसबीच समझदारी बन्दै गएको बताउनु भयो । मधेसी मोर्चा र आफ्नो पार्टीबीचमा छलफल चलिरहेको बताउँदै संवाद र सहमति कायम गर्न आफूले निरन्तर लागिरहेको उहाँको भनाई थियो । उहाँले मधेसी मोर्चा सहमतिमा आउनै पर्ने र सहमतिको विकल्प नभएको पनि बताउनु भयो । अध्यक्ष प्रचण्ड भोली राजधानी फर्कनु हुनेछ ।

कात्तिक ६, २०८१ बुधबार ५:२०:५३